July 4th, 2019

तानसेनबासीलाई खुसीको खबर : नेपाल बैंकले सहुलियत कर्जा दिने, नगरपालिकासँग सम्झौता

बैंकिङ खबर । नेपाल बैंकले पाल्पाको तानसेन नगरपालिका क्षेत्रमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । यससम्बन्धमा बैंक र नगरपालिकाबीच सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पा र नगरप्रमुख अशोक कुमार शाहीले हस्ताक्षर गरेका छन् । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिबृद्धि गर्न, शिक्षित वेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको बिकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकीकरण एवं प्रवद्र्धन गरी उद्यमशीलता विकास गर्ने उद्देश्यले यो सम्झौता गरेको बैंकले जनाएको छ ।

जसअनुसार, नेपाल बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिमा रही नेपाल बैंक लिमिटेड सहुलियतपूर्ण कर्जाको एकिकृत कार्यविधी, २०७५ र तानसेन नगरपालिकाको स्वरोजगार कार्यक्रम संचालन कार्यबिधि, २०७५ बमोजिम तानसेन नगरपालिका क्षेत्रभित्र सहुलियतपूर्ण कर्जा उपलब्धताको लागि ब्याज अनुदान उपलब्ध गराउने गरी लगानी गर्नेछ ।

अब नेपालको समृद्धिको सुरुवात तानसेन नगरपालिकाबाट हुने र बैंकसँगको यो सहकार्यबाट समृद्ध र आत्मनिर्भर तानसेन नगरपालिको परिकल्पना गरिएको नगरप्रमुख शाहीले बताए । बैंकका प्रदेश ५ प्रमुख शेर्पाले नेपाल बैंक देशको समेद्धिका लागि सहयोग गर्न सँधै तयार रहेको बताए ।

स्थानीय निकायसँगका समन्वयनमा यस्ता कार्यक्रमहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको बैंकले छिटै पाल्पा मिशन हस्पिटलमा एक्टेन्सन काउन्टर समेत सञ्चालन गर्न लागेको छ । बैंकको पाल्पा शाखाले हालै मात्र राजस्व बुझ्ने कार्यको पनि सुरुवात गरेको छ ।