बैंकिङ खबर । काठमाडौं महानगरपालिकाले आर्थिक बर्ष २०७६।०७७ का लागि साढे १५ अर्बको बजेट सार्वजनिक गरेको छ । मेयर विद्यासुन्दर शाक्यले मंगलबार १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँ बराबरको विनियोजन विधेयक प्रस्तुत गरेका हुन् ।
महानगरले भौतिक पूर्वाधार विकास कार्यक्रमका लागि सबैभन्दा धेरै ४९.१२ प्रतिशत बजेट छ्टयाएको छ । आफ्नै स्रोतबाट चार अर्ब ३१ करोड ३५ लाख, संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान एक अर्ब १५ लाख गरि जम्मा पाँच अर्ब ३१ करोड ५० लाख रुपैया अनुमानित खर्चको सीमा निर्धारण गरेको हो ।
त्यस्तै, सामाजिक विकास कार्यक्रम शीर्षकमा आफ्नै स्रोतबाट २७ करोड छ लाख ९० हजार र संघीय तथा प्रदेश सरकारबाट सशर्त अनुदान एक अर्ब २५ करोड नौ लाख रुपैयाँ गरि एक अर्ब ५२ करोड ५० लाख ९० हजार रुपैयाँ अर्थात कुल बजेटको १४.०६ प्रतिशतको सीमा तोकेको छ ।
शिक्षामा आन्तरिक स्रोतबाट ३० करोड ८८ लाख ५४ हजार र संघीय तथा प्रदेश सरकारबाट एक अर्ब चार करोड दुई लाख ४६ हजार रुपैयाँ गरि कुल एक अर्ब ३४ करोड ९० लाख ५० हजार रुपैयाँ सिमा निर्धारण गरिएको छ, जुन बजेटको १२.४७ प्रतिशत हो ।
यसबाहेक, सम्पदा पर्यटन प्रवर्द्धन कार्यक्रमका लागि ६.६२ प्रतिशत अर्थात ६७ करोड ६९ लाख ९५ हजार रुपैयाँ, हनुमानढोका दरबार क्षेत्र संरक्षणका लागि ५४ करोड ६९ लाख ६७ हजार रुपैयाँ, वातावरण तथा उद्यान व्यवस्थापन कार्यक्रमका लागि ३१ करोड ८५ लाख ४५ हजार, शहरी योजना सम्वन्धी कार्यक्रमका लागि २९ करोड ३५ लाख १५ हजार,सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख, सूचना तथा संचार सेवाका लागि १६ करोड ३९ लाख, जनस्वास्थ्यका लागि १२ करोड ३४ लाख ८२ हजार, विपद व्यवस्थापनमा सात करोड ३० लाख, अन्तराष्ट्रिय सम्वन्ध प्रवर्द्धनका लागि छ करोड ५९ लाख, कृषि र पशुसेवा शीर्षकमा छ करोड २९ लाख सात हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाँच करोड चार लाख ७७ हजार, राजश्व परिचालन तथा वित्त व्यवस्थापनमा तीन करोड ३५ लाख, शहरी सुव्यवस्थाका लागि तीन करोड ,सहकारी व्यवस्थापनमा एक करोड ४० लाख र शहरी विकास सेवा कार्यक्रमका लागि एक करोड २५ लाख रुपैयाको सीमा निर्धारण गरिएको छ ।