भूकम्प गएको १४ महिना बितिसक्दा पनि ०.३३ प्रतिशत पीडित परिवारले मात्रै नगद पाएका छन्, त्यही पनि पहिलो किस्ता । अनुदान वितरणका लागि बैंकसँग पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्न ढिलाइ गर्दा पीडितले समयमा नै राहत पाउन नसकेका हुन् । भूकम्पले क्षतिग्रस्त ७५ परिवारलाई सरकारले अनुदान वितरणका लागि छनौट गरी सम्झौता गरेको छ । जम्मा लाभग्राहीमध्ये हालसम्म करिब १४ प्रतिशतसँग मात्रै अनुदान पाउने सम्झौता भएको हो । यसमध्ये पनि हालसम्म २ हजार पीडितलाई मात्रै अनुदानको पहिलो किस्ता वितरण गरिएको छ । भुकम्प अतिप्रभावित ११ जिल्लामा घर बनाउन अनुदान पाउनुपर्ने ५ लाख ३२ हजार २ सय ३६ मध्ये ७४ हजार ४ सय ८१ परिवारसँग मात्र सम्झौता भएको हो । यसमध्ये २ हजार ४ जनाले घर पुनर्निर्माण गर्ने पहिलो किस्ता रकम पाएका छन् । रकम पाउनेमा दोलखाका १ हजार २ सय ३७, गोरखाका ७ सय ६५ र सिन्धुपाल्चोकका २ परिवार रहेका छन् । जसअनुसार, हालसम्म घर बनाउनका लागि सरकारले पीडितलाई जम्मा १० करोड २ लाख रुपैयाँ मात्रै भुक्तानी गरेको छ ।
सरकारले भूकम्प पीडितलाई अनुदान वितरणको कार्यक्रम गत फागुनबाट सुरु गरेको हो । झन्डै ४ सय गाविसमा भूकम्प गएको १ वर्ष पुगेको दिन गत वैशाख १२ गतेबाट सुरु गरेको थियो । लामो समय भूकम्पपीडितहरूसँग सम्झौता गर्नमै समय बित्यो । सम्झौतापछि सबैको पीडितको बैंक खाता खोल्न समय लाग्यो । व्यवस्थापकी कमजोरीका कारण स्थानीय निकायहरूसँग गत चैत २१ गतेदेखि सम्झौता गरेका पीडितहरूले समेत अनुदान पाउन सकेका छैनन् ।
सरकारले पूर्ण रूपमा घर क्षति भएको परिवारलाई २ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ । हाल पहिलो किस्ताअन्तर्गत ५० हजार रुपैयाँ उपलब्ध गराइरहेको छ । दोस्रो किस्ताअन्तर्गत २ लाख रुपैयाँको ४० प्रतिशत अर्थात ८० हजार रुपैयाँ उपलब्ध गराउने सरकारको तयारी छ । छाना छाउनु अगाडिको तहसम्मको कार्य सम्पन्न भएपश्चात तेस्रो तथा अन्तिम किस्ता ७० हजार रुपैयाँ पाइने व्यवस्था गरिएको छ ।