बैंकिङ खबर । १० महिनामा नेपालमा सवा सात खर्ब रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेपनि रेमिट्यान्स आप्रवाह भने बढेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार, रेमिट्यान्स आप्रवाह १९.६ प्रतिशतले बढेर सात खर्ब २५ अर्ब अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ७ प्रतिशतले मात्रै बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ , जबकि अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो ।
वैशाख मसान्तसम्मा खुद ट्रान्सफर आय १९.४ प्रतिशतले बढेर आठ खर्ब २६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको वैशाखमा यस्तो आय ०.१ प्रतिशतले घटेको थियो ।
रोजगारीका लागि विदेश जाने नेपालीको संख्या भने उल्लेख्य रुपमा घटेको छ । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या वैशाखा मसान्तसम्मा ३८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको वैशाखमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो ।
पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ५.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.२ प्रतिशतले घटेको थियो ।