June 20th, 2019

ती समस्याग्रस्थ वित्तीय संस्थाहरु : यसरी अघि बढे सवल बाटोतिर

बैंकिङ खबर । खराब कर्जा अत्याधिक बढेर समस्याग्रस्त अवस्थामा रहेका वित्तीय संस्थालाई केन्द्रीय बैंकले आफ्नै निगरानीमा राखेर समस्यामुक्त बनाउने कोशिस गर्दछ । राष्ट्र बैंकले नयाँ लगानीकर्ताको प्रवेश गराएर वा अन्य उपायबाट संस्थाको सुधार हुने अवस्था बनाई फुकुवा गर्छ वा सो अवस्था नदेखिएमा खारेजी गरिन्छ । नेपाल राष्ट्र बैंकले १६ संस्थालाई समस्याग्रस्त घोषणा गरेकोमा प्रायःजसो संस्था खारेजी, संस्था सुधार तथा एक्विजिसन तथा आदि विधिबाट रिजोलुसन भइसकेका छन् ।

समस्याग्रस्तबाट फुकुवा भएर संचालनमा आएका वित्तीय संस्थाहरु अहिले सुधारोन्मुख अवस्थामा छन् । राष्ट्र बैंकका अनुसार क्रिस्टल फाइनान्स, नेपाल फाइनान्स, वल्र्ड मर्चेन्ट फाइनान्स, क्यापिटल फाइनान्स, नेपाल सेयर मार्केट्स तथा नारायणी विकास बैंक गरी कुल ६ वटा वित्तीय संस्था समस्याग्रस्त अवस्थामा छन् ।

गोर्खाज फाइनान्स
तल्कालीन गोरखा डेभलपमेन्ट बैंक काठमाडौँ फाइनान्ससँग मर्जमा गई घटुवा भएर गोरखा फाइनान्सको रुपमा संचालनमा रहेको छ । राष्ट्रिय स्तरको कारोबार गरिरहेको यो फाइनान्सको चुक्तापुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा छ करोड ३५ लाख ३५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीको खराब कर्जा ४.८९ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खराब कर्जा ४.७६ प्रतिशत थियो । कम्पनीले जगेडा कोषमा ३५ करोड २० लाख ३२ हजार रुपैयाँ रहेको छ ।

सिटी एक्स्प्रेस फाइनान्स
२०६९ साल पुस २३ गते समस्याग्रस्त घोषणा गरिएको कुबेर मर्चेन्ट फाइनान्समा नयाँ लगानीकर्ताको प्रवेश भएपछि २०७४ साल मंसिर १९ गते फुकुवा गरिएको थियो । अहिले यो फाइनान्स सिटी एक्सप्रेस फाइनान्सको नामबाट सञ्चालन भइरहेको छ । ४० करोड २१ लाख ४२ हजार रुपैयाँ चुक्तापुँजी भएको यो फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ९४ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ । एक वर्षमा कम्पनीको खराब कर्जा शतप्रतिशतबाट ९.५८ प्रतिशतमा झरेको छ । कम्पनीको जगेडा कोष भने नेगेटिभमा रहेको छ ।

बेष्ट फाइनान्स
गैरआवासीय नेपालीले लगानी गरेसँगै समस्याग्रस्तबाट फुकुवा भएको जनरल फाइनान्स हाल बेष्ट फाइनान्सको नामबाट संचालित छ । २०७३ सालमा नै समस्याग्रस्तबाट फुकुवा भएको यो फाइनान्सको चुक्तापुँजी ८१ करोड १६ हजार रुपैयाँ छ भने जगेडा कोष नेगेटिभमा रहेको छ । चैत्र मसान्तसम्मको तथ्यांक अनुसार, कम्पनीको खराब कर्जा १६.९५ प्रतिशतमा झरेको छ । अघिल्लो चैत्रमा यस्तो कर्जा ५८.२० प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षको नौ महिनामा कम्पनीको नाफा सात करोड ७३ लाख १४ हजार रुपैयाँ पुगेको छ ।

हाथवे फाइनान्स
हाल हाथवे फाइनान्सको नामबाट संचालनमा रहेको अरुण फाइनान्स ग्लोबल आईएमई बैंकमा गाभिने क्रममा रहेको छ । हाथवे इन्भेष्टमेन्ट कम्पनीले लगानी गरेर ब्युँताएको यो फाइनान्सको चुक्तापुँजी ३० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष नेगेटिभमा रहेको छ । चैत्र मसान्तसम्ममा एक करोड ९८ लाख ६० हजार रुपैयाँ नाफा गरेको बैंकको खराब कर्जा २.२६ प्रतिशतमा झरेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक
कर्पोरेट डेभलपमेन्ट बैंकले छोटो समयमा नै राम्रो सुधार गरेको छ । चैत्र मसान्तसम्ममा बैंकले ८ करोड २८ लाख मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ९४ लाख मात्रै थियो । ३६ करोड २२ लाख रुपैयाँ चुक्ता पूंजी रहेको यस विकास बैंकको जगेडा कोष भने अहिले पनि १ करोड ७० लाख रुपैयाँले नकारात्मक अवस्थामा छ । गत आवमा १६ करोड ६० लाखले नकारात्मक रहेको जगेडा कोषमा पनि सुधारको छलाङ आएको मान्नु पर्दछ । त्यस्तै खराब कर्जा एक वर्षमा ८९.४६ प्रतिशतबाट ३१ दशमलव ८१ प्रतिशतमा झार्न सफल भएको छ ।

ललितपुर फाइनान्स
नयाँ लगानीकर्ताको प्रवेशपछि पनि ललितपूर फाइनान्सको भने सुधार हुन सकेको देखिँदैन । प्राइम बैंकले एक्वायर गर्न लागेको यो फाइनान्स चार करोड १८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । २३ करोड ६८ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको जगेडा कोष ११ करोड सात लाख रुपैयाँ नेगेटिभमा छ । कम्पनीको खराब कर्जा ७५.३३ प्रतिशत छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]