Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वित्तीय जागरणको अभावका कारण अवसरको सदुपयोगमा समस्या : गभर्नर डा. नेपाल

२०७६ जेष्ठ २४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले प्रशस्तै स्रोत र साधन भएर पनि उपयोग गर्न नजान्दा व्यापार घाटाको डरलाग्दो स्थिती देखा परेको बताएका छन् । शुक्रबारदेखि स्याङ्जाको वालिङमा सुरु भएको बैंकिङ तथा बीमा एक्स्पोको उद्घाटन गर्दै गभर्नर डा. नेपालले सहजै उपलब्ध स्रोत र साधनको प्रयोग गर्न नसकिएको बताएका हुन् ।

वैदेशिक रोजगार र जागिर खान तर्फ मात्रै नेपालीको ध्यान गएको उल्लेख गर्दै उनले अब स्वेदेशमा नै उत्पादन बढाउनु अत्यावश्यक भइसकेको धारणा राखे । राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिँदै आएको जानकारी दिँदै गभर्नर डा. नेपालले भने ‘घरघरमा नै पैसा आईपुग्दा पनि हामीले सदुपयोग गर्न नसकेकै कारण पछाडि परेका हौं ।’ अवसर हुँदाहुँदै पनि व्यवसाय गर्न नसक्नुको पछाडी वित्तीय जागरणको अभाव मूख्य कारण रहेको उल्लेख गर्दै उनले राष्ट्र बैंकले वित्तीय जागरण अभियानलाई प्राथमिकतामा राखेको बताए ।

वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले भर्खर प्रस्तुत भएको बजेटमा विकास खर्च कम हुनु, ठूलो अन्तरको व्यापार घाटा रहनु तथा ऋणद्वारा घाटा बजेट परिपुर्ति गर्नुपर्ने जस्ता कारणले आगामी बर्ष पनि तरलताको अभाव हुने दावी गरे । उनले कर्जाको ब्याज घट्न नसके लगानीकर्ता थप निरुत्साहित हुन सक्नेतर्फ गभर्नरको ध्यानाकर्षण गर्दै मौद्रिक नीतिमार्फत लगानीमैत्री वातावरण निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए । ‘नेपालको विकासमा वाधकका रुपमा रहेका बाँझिने खालका केही कानुन तत्काल हटाउनु पर्छ,‘ खाँणले भने, ’अनावश्यक कानुन कै कारण पनि देश अगाडि जान सकिरहेको छैन ।‘ उनले वित्तीय सेवा गाउँगाउँसम्म पुर्याउन पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा डेभलपमेन्ट वैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले आफूहरु गाउँ—गाउँ पुगेर सेवा दिन तयार रहेको बताए । रोजगारको खोजीमा विदेश जाने क्रम रोक्न आफूहरुले कर्जाको प्रवाह सरल गराउँदै लगेको जानकारी दिँदै उनले आफूहरुसँग रहेको निक्षेपलाई कृषि पर्यटन आदिमा लगानी गरी समग्र स्याङ्जाको विकासमा सहयोग गर्न समेत तयार रहेको उल्लेख गरे ।

सो अवसरमा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले व्यापारीका विभिन्न समस्याका बारेमा गर्भनर डा. नेपालको ध्यानाकर्षण गराएका थिए ।

वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु भएको एक्स्पो दुई दिनसम्म चल्नेछ । मिडिया ईन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समितिको सहकार्य र वालिङ उद्योग बाणिज्य संघको सहकार्यमा हुने एक्स्पोमा उद्यमशीलताको बारेमा बहस, बित्तीय साक्षरता सम्वन्धी विशेष अन्तरक्रिया गरिने आयोजकले जानकारी दिएको छ ।

ग्रामिण अर्थतन्त्रको विकास, लघु उद्यमशीलतालाई प्रभावकारी बनाउने उद्देश्यका साथ राष्ट्र बैकको योजना अनुशार एक्स्पोको आयोजना गरिएकोे वित्तीय जागरण राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले जानकारी दिए । उनले बीमामा पहुँच अभिवृद्धि, हुण्डीको न्युनीकरण, उद्यमशीलताको विकास, ग्रामिण अर्थतन्त्रको चलायमानमा एक्स्पोले महत्वपूर्ण योगदान दिने दाबी गरे ।

Ad