बैंकिङ खबर । स्वदेशी लघुवित्तको सुनसरीस्थित अमहिबेलाहा शाखाले इलाका प्रहरी चिम्री अमाहिबेलाहासँगको सहकार्यमा वित्तीय साक्षरता र प्रहरी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । बर्दु गाउँपालीका वडा नं. ६ का वडा अध्यक्ष विनेद कु. चौधरी र ईलाका प्रहरी चिम्रीका प्रहरी निरीक्षक टेक नारायण चौधरीको आतिथ्यता एवम् ६० जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा समाजमा घट्ने विभिन्न खालका घटना, महिला हिंसाका साथै समुदायले कसरी प्रहरीसँग सहकार्य गरेर अगाडी बढ्ने भन्ने विषयमा छलफल गरिएको थियो । त्यस्तै, वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, बजेट, वित्तीय अनुशासन, कर्जा सदुपयोगिता आदिको बारेमा छलफल साथै भिडियो सामाग्री प्रदर्शनी मार्फत जनचेतना मुलक सन्देश प्रदान गरिएको थियो । महिला हिंसा न्यूनिकरणमा लघुवित्तको भूमिकाका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।
वडा अध्यक्ष चौधरीले गाँउघरमा यस्ता कार्यक्रमको आवश्यकता महशुस भएको बेला स्वदेशीे लघुवित्तले कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे । प्रहरीका प्रतिनिधिले वित्तीय संस्थाले गरेको अगुवाई प्रभावकारी भएको भन्दै आउँदा दिनमा अझै सशक्त सहकार्यको अपेक्षा लिएको बताए ।
कार्यक्रममा लघुवित्तको अमाहीबेलाहा शाखाको शाखा प्रबन्धक मोहमद महताब, केन्द्रीय कार्यलयबाट अनुगमन तथा अशुलि विभागका अधिकृत हरि चन्द्र पौडेल लगायतको उपस्थिती थियो ।




