बैंकिङ खबर । सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारीवाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायीक संगठन नै सहकारी हो । सहकारी एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो, जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं वितरीत सेवा ग्रहण गर्न सक्दछन् । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ । समुदायमा छरिएर रहेका स्थानीय स्रोत, साधन र पूँजीहरुलाई एकत्रित गरी व्यवस्थापन गर्ने कार्यकुशलता वा क्षमता अभिवृद्धि गरी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने सवल संस्थागत माध्यम नै सहकारी हो ।
प्रभावकारी रुपमा व्यवस्थापन गरी अगाडी लैजाने हो भने नेपालका सहकारी संस्थाहरु गरीबी निवारणको मूख्य अस्त्र बन्न सक्छन् ।सहकारीलाई व्यवस्थापन गर्नका लागि निम्न उपाय अपनाउन सकिन्छः
दरिलो नियमनकारी निकाय
प्रभावकारी नियमकको अभावमा सहकारी क्षेत्रमा विकृति बढिरहेको छ । नियमविपरीत चलिरहेका सहकारीहरुका लागि सहकारी क्षेत्रप्रति नै जनविश्वास कम हुँदै गएको छ । त्यसैले नेपालका सहकारीहरुको व्यवस्थापनका लागि एक दरिलो नियमनकारी निकायको आवश्यकता रहेको छ ।
मर्जर र ठुला सहकारीको अवधारणा
नेपालमा सहकारीको विकास संख्यात्मक ढंगले मात्रै भइरहेको छ । ठूलो संख्यामा रहेका सहकारी संस्थाहरुलाई मर्जरको माध्यमबाट ठूलो र सबल सहकारीमा रुपान्तरण गरी गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ । घरैपिच्छे स्थापना भएका सहकारीहरुलाई मर्ज गरी ठूलो संस्थाको रुपमा व्यवस्थापना गर्न सकिन्छ ।
उत्पादन क्षेत्रमा लगानी
सहकारी क्षेत्रको व्यवस्थापनका लागि त्यसको लगानीको व्यवस्थापन गर्नु आवश्यक छ । अहिले सहकारी संस्थामा जम्मा गरिएको निक्षेप कुनै उत्पादनमूलक काममा लगानी हुन सकेको पाइँदैन । कतिपय सहकारीहरुमा त संचालक नै पैसा लिएर भाग्ने वा व्यक्तिगत प्रयोजनामा खर्च गर्ने गरिरहेका छन् । यो कुरालाई व्यवस्थापना गरी सहकारी संस्थाको लगानी उत्पादनमूलक क्षेत्रमा बढाउनुपर्छ ।
निश्चित व्याजदरको मापदण्ड
सहकारी संस्थाको व्याजदरको विषयमा पनि बेलाबेलामा प्रश्न उठ्ने गरेका छन् । उचित ढंगले नियमन हुन नसक्दा सहकारी संस्थाहरुले मनपरी ढंगले व्याज दिने लिने गरिरहेको पाइएको छ । यो विषयलाई पनि व्यवस्थापन गर्नु आवश्यक छ । सहकारीमा राखिने निक्षेपको व्याज र सहकारीबाट दिइने कर्जाको व्याजदरको निश्चित मापदण्ड तोकी लागू गर्नुपर्दछ ।
दक्ष कर्मचारीको विकास
सहकारी संस्थाहरुमा दक्ष कर्मचारीको पनि अभाव रहेको छ । राम्रो कर्मचारीहरु प्रायः बैंक तथा वित्तीय संस्थाहरुमा प्रवेश गर्न चाहन्छन् । त्यसैले, सहकारीमा काम गर्ने कर्मचारीहरु त्यति दक्ष हुँदैनन् । यसका लागि सहकारीमा दक्ष कर्मचारीलाई आकर्षित गर्ने योजना बनाउनुपर्छ । भएका कर्मचारीहरुलाई पनि प्रशिक्षणमार्फत दक्ष बनाउन सकिन्छ, तामि सहकारीको कामहरु बढी प्रभावकारी बन्न सकोस ।
ग्रामीण अर्थतन्त्रमा केन्द्रित
सहकारी संस्थाहरुलाई ग्रामीण अर्थतन्त्रको विकासमा केन्द्रित गर्नुपर्दछ । बैंक तथा वित्तीय संस्थाहरु पुग्न नसकेका दुर्गम भेगहरुका सर्वसाधारणलाई बचत गर्ने बानीको विकास गराउन सहकारीको ठूलो भूमिका हुन सक्छ । उक्त बचतबाट स्थानीय स्तरमै लगानी गरेर उद्यमशीलताको विकास गराउन सकिन्छ ।