काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को फागुनसम्म बीमा कम्पनीहरूमा रू. २ खर्ब ५८ अर्ब ८३ करोड बराबरको लगानीयोग्य पूँजी निर्माण भएको छ । त्यसमध्ये जीवन बीमा कम्पनीहरूको ८६ दशमलव २ र निर्जीवन बीमा कम्पनीहरूको १३ दशमलव ८ प्रतिशत अंश रहेको अर्थ मन्त्रालयले सोमवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७५/७६ मा उल्लेख छ ।
प्रतिवेदन अनुसार गत आव २०७४/७५ मा बीमा कम्पनीहरूमा रू. २ खर्ब २९ अर्ब ५४ करोड लगानीयोग्य पूँजी थियो । सामान्यतया बीमा कम्पनीहरूको चुक्तापूँजी, जगेडा कोष, बीमा कोष लगायत कोषमा रहने सम्पत्तिलाई लगानीयोग्य पूँजीको रूपमा गणना गरिन्छ । हाल नेपालमा २० निर्जीवन, १९ जीवन र एक पुनर्बीमा कम्पनी सञ्चालनमा छन् ।
बीमा कम्पनीहरूको लगानीयोग्य पूँजी बढ्दै जानु सकारात्मक पक्ष रहेको नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भरत बस्नेतले बताए । उक्त पूँजी लगानी भएपछि आम्दानीको स्रोत बढ्ने उनको भनाइ छ । त्यसबाट लगानीकर्ता, कम्पनी र बीमितले फाइदा उठाउन सक्ने उनले बताए ।

यस्तै, गत फागुन मसान्तसम्म बीमा कम्पनीहरूको कुल वित्तीय स्रोत तथा उपयोग रू. ३ खर्ब १३ अर्ब ८९ करोड छ । त्यसमध्ये जीवन बीमा कम्पनीको रू. २ खर्ब ३० अर्ब ६७ करोड र निर्जीवन बीमा कम्पनीको रू. ८३ अर्ब २२ करोड रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै, कम्पनीहरूको बीमाशुल्क आम्दानी पनि बढ्दै गएको छ । कम्पनीहरूले आव २०७०/७१ मा रू. ३० अर्ब ४३ करोड बराबरको बीमाशुल्क आर्जन गरेका थिए । आव २०७४/७५ को अन्त्यसम्म आउँदा त्यसको मात्रा रू. ७७ अर्ब ८८ करोड पुगेको छ, जुन देशको कुल गार्हस्थ्य उत्पादनको २ दशमलव ६ प्रतिशत अंश रहेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार गत फागुनसम्म जीवन बीमाको पहुँच १८ प्रतिशत नेपालीमा पुगेको छ । नयाँ जीवन कम्पनीहरू थपिएर बजार विस्तार भएपछि बीमाको पहुँच बढ्दै गएको सरकारको दाबी छ । साथै, आगामी असार मसान्तसम्म जीवन बीमाको पहुँच २० प्रतिशत नेपालीमा पुग्ने अनुमान गरिएको छ ।
बीमा कम्पनीहरूलाई संघीय संरचना अनुसार विस्तार हुन निर्देशन दिएपछि अहिले सबै प्रदेशमा कम्पनीहरूको शाखा स्थापना भइसकेको छ । हालसम्म जीवन र निर्जीवन बीमा कम्पनी गरी सातै प्रदेशमा २ हजार ९ ओटा शाखा स्थापना भएका छन् । प्रतिवेदन अनुसार प्रदेश–३ मा सबैभन्दा बढी ५५३ ओटा शाखा छन् ।
कर्णाली प्रदेशमा सबैभन्दा कम १२६ ओटा शाखा पुगेको प्रतिवेदनमा उल्लेख छ । भौगालिक कठिनाइ र व्यावसायिक चुनौतीका कारण विकट ठाउँहरूमा शाखा विस्तार गर्न गाह्रो भएको कम्पनीहरूले बताउँदै आएका छन् । अभियान दैनिकमा प्रकाशित




