बैंकिङ खबर । राष्ट्र बैंकले रोक लगाएका मोबाइल एपहरुले वैधानिक कारोबार गर्ने इच्छा व्यक्त गरेका छन् । चिनियाँ मोबाइल एपहरु वी च्याट र अली पेले नेपालमा वैधानिक रुपमा कारोबार गर्न चाहेको चिनियाँ अधिकारीले बताएका हुन् ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका अर्थ वाणिज्य हेर्ने काउन्सुलर जाङ फाङले उनीहरू वैधानिक रुपमा नेपाल आउन इच्छुक रहेको बताए । राजश्वको दायराभन्दा बाहिर रहेको भन्दै हालै राष्ट्र बैंकले वी च्याट र अली पेलाई नेपालमा कारोबार गर्न प्रतिबन्ध लगाएको थियो । यसले गर्दा पर्यटकहरु प्रभावित भएकाले यी मोबाइल एपलाई बाटो खुला गरिदिनुपर्ने फाङले बताए ।