May 20th, 2019

नियन्त्रित हुँदै हुण्डी कारोबार : विदेशीनेको संख्या घटेपनि रेमिट्यान्समा उल्लेख्य वृद्धि

बैंकिङ खबर । वैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेपनि नेपालमा रेमिट्यान्स आप्रवाह बढिरहेको छ । चालू आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार, अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३९.३ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह भने २०.९ प्रतिशतले बढेको छ । चैत्र मसान्तसम्ममा नेपालमा छ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । त्यस्तै, खुद ट्रान्सफर आय पनि २०.९ प्रतिशतले बढेर सात खर्ब ४६ अर्ब चार करोड रुपैयाँ पुगेको छ ।

अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गरि औपचारिक कारोबार बढाउने उदेश्यले नेपाल राष्ट्र बैंकले हुण्डी नियन्त्रणका लागि विभिन्न कदमहरु चालिरहेको छ । त्यस्तै, रेमिट्यान्स कम्पनीहरुले पनि सहज रुपमा सेवा दिन थालेका छन् । हुण्डीमार्फत पठाउँदा घरमै पैसा पुग्ने भन्दै विदेशमा रहेका नेपालीहरु रेमिट्यान्सभन्दा हुण्डीलाई रोज्ने गर्थे । बैंक अथवा रेमिट्यान्समार्फत पठाउँदा पैसा झिक्न धाएर जानुपर्ने बाध्यता थियो । यद्यपि, अहिले हरेक गाउँगाउँमा बैंकको उपस्थिती भएका कारणले विदेशबाट पठाएको रेमिट्यान्स लिन घरपरिवारलाई सहज भएका कारण पनि हुण्डीको प्रयोग घटेको छ । फलस्वरुप, विदेशीने नेपाली कामदारहरुको संख्यामा कमी आएतापनि रेमिट्यान्समा उल्लेख्य वृद्धि देखिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]