May 18th, 2019

बैंकिङ क्षेत्रमा बढी प्रयोग भएका प्रविधिहरु

बैंकिङ खबर । पछिल्लो दशकमा बैंकहरुले शेयर कारोबार, बीमा सेवा तथा लगानीका विभिन्न क्षेत्र र बजारका अन्य सुविधाहरु पनि बैंकबाटै लिन सकिने आधुनिक प्रविधिहरु भित्र्याएका छन् । बैंकमा खाता खोल्न, रकम जम्मा गर्न र भुक्तानी गर्न आधुनिक प्रविधिका कारण सह जबनेको छ । लामो समय सम्म लाइन बस्नुपर्ने बाध्यता हटेको छ । इन्टरनेट बैंकिङ र मोवाइल बैंकिङ मार्फत विभिन्न ठाउँमा भुक्तानी, किनमेल गर्न सम्भव भएको छ भने आफ्नो खातामा भएको पैसा हेर्न बैंक सम्म पुग्नुपर्ने अवस्था पनि हटेको छ । यसले खर्च र समयको बचत भएको छ । बैंकिङ कारोबारमा संलग्न पक्षहरुको सहजता एवम् सुरक्षाका लागि बैंकहरुले संचालनमा ल्याएका सुविधाहरुका बारेमा यहाँ चर्चा गरिन्छ :

एटिएम मेसिन
नेपालमा एटीएम सेवाको सुरु भएको धेरै भएको छैन । तर, छोटै अवधिमा पनि एटीएमले लोकप्रियता कमाएको छ । यसमार्फत जुनसुकै समयमा पनि एउटा कार्ड छिराएको भरमा आफ्नो खाता रहेको पैसा निकाल्न सकिन्छ ।

डेबिट कार्ड
बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन)बाट नगद निकल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भन्न सकिन्छ ।

अनलाइन बैंक खाता
अहिले अधिकांश बैंकहरुले अनलाइन बैंक खाता पनि संचालनमा ल्याएका छन् । देश तथा विदेशमा रहेका ग्राहकहरुले अनलाइन बैंकिङ मार्फत सजिलै खाता खोल्न सक्ने छन् । यस्तो प्रकारको खाता शुन्य मौज्दातमा खोल्न सकिने छ ।

इन्टरनेट बैंकिङ
इन्टरनेट बैंकिङ भनेको इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने केही सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटर तथा मोबाइलबाट पाउन सक्ने छन् । ब्यालेन्स हेर्न, स्टेटमेन्ट हेर्न र प्रीन्ट गर्न, नयाँ चेक बुकको अनुरोध गर्न, हराएको चेक रोक्का गर्न, विभिन्न बीलहरुको भुक्तानी गर्न इन्टरनेट बैंकिङबाट सकिन्छ ।

मोबाइल बैंकिङ
बैँक तथा वित्तीय संस्थाले आफ्नो कारोबार ग्रामीण तहसम्म विस्तार गर्नका लागि मोबाइल बैँकिङ कारोबार सुरु गरेका छन् । मोबाइल एप्लिकेशनहरु मार्फत मोबाइलबाट नै बैँकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कामहरु गर्न सकिन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुन्छ । पैसा ट्रान्सफर गर्ने, बिलहरु भुक्तानी गर्ने लगायतका सेवाहरु यस बैंकिङमा उपलब्ध छ ।

एसएमएस बैंकिङ
एसएमएस बैंकिङ मोबाइल बैंकिङकै एउटा रुप हो । यो सेवा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई एसएमएसमार्फत विभिन्न जानकारी गराउने गर्दछन् । आफ्नो खातामा भएको कारोबार एसएमएसमार्फत जानकारी पाउने व्यवस्था यसमा हुन्छ ।

ब्रान्चलेस बैंकिङ
अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफ्नो भौतिक शाखा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउँगाउँमा दिने बैंकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । अहिले बैंकहरुले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी ब्रान्चलेस बैंकिङ सेवा उपलब्ध गराउन थालिसकेका छन् ।

क्रेडिट कार्ड
क्रेडिट कार्डबाट निश्चित रकमसम्मको वस्तु तथा सेवा उधारोमा खरिद गर्न सकिन्छ । अहिले खर्च गरेपछि तिर्दै गए हुन्छ भन्नेउद्देश्यले कार्डको विकास भएको हो । नेपालमा कार्डमार्फत उपभोक्ताले ४५ दिनसम्म तोकिएको रकम बिना ब्याज पाउँछन् । यसको प्रयोग नेपालमा खासै धेरै भएको पाइँदैन ।

पस मेसिन
पस मेसिनको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ । त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन । दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, सिनेमा हल लगायतमा यसको प्रयोग बढेको छ ।

भाइबर बैंकिङ
भाइबर प्रयोगकर्ताहरुलाई ध्यानमा राखेर कतिपय बैंकहरुले भाइबर बैंकिङ सेवा दिइरहेका छन् । ग्राहकले भाईबर बैंकिङ्ग मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिन सक्नेछन् ।

मल्टि करेन्सी कार्ड
मल्टि करेन्सी कार्डमार्फत विश्वका १६ मुलुकमा जाँदा त्यहाँका मुद्रा एउटै कार्डमा लोड गरी लैजान सकिन्छ । यसबाट नगद विदेशी मुद्रा सटहीमा समस्या झेलिरहेका ग्राहकहरुलाई सजिलो भएको छ ।

अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवं फछर्याैट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्र्याएको हो ।

टेलिबैंकिङ सेवा
फोनबाटै गरिने बैंकिङ कारोबार टेलि अर्थात टेलिफोन बैंकिङ हो । यसअन्तर्गत ग्राहकले फोन गरेर भनेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने तथा राख्ने कामहरु गर्न सकिन्छ । यसले सानोतिनो कारोबारका लागि पनि बैंकमै धाउनुपर्ने झन्झटबाट मुक्त गर्दछ । कुनै कुनै बैंकले ग्राहक हेरेर यस्तो सेवा दिइरहेका छन् । यद्यपि, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ जस्ता प्रविधिका कारण टेलिबैंकिङको प्रयोगमा कमी आएको पाइन्छ ।

डिम्याट खाता
सेयर कारोबारमा सहजता ल्याउनका लागि बैंकमा नै सेयर जम्मा गर्ने प्रविधि समेत आइसकेको छ । पैसा जम्मा गर्ने बचत खाता भएजस्तै डिम्याट खाता सेयर कारोबार गर्ने खाता हो ।

आस्वा प्रणाली
बैंक खातामा भएको पैसा सिधै सेयरमा लगानी गर्न मिल्ने प्रविधि हो आस्वा प्रणाली । यस प्रणालीमार्फत सेयर भर्न विक्री प्रबन्धकको गइरहनुपर्ने आवश्यकता पर्दैन । अझ सीआस्वामार्फत घरमै बसी बसी सेयर भर्न मिल्ने सुविधा पनि आइसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]