बैंकिङ खबर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९औँ वार्षिक साधारणसभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) नगद वितरणको प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी पाँच अर्ब ४९ करोड ९६ लाख १६ हजार पुग्नेछ, जुन जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी हो ।
सभाले आ.व.२०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।
साधारणसभामा कम्पनीका अध्यक्ष गोविन्द लाल संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको भन्दै सम्बद्ध सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
हाल यस कम्पनीको लगानी रु ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।
कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।



