May 15th, 2019

भारतमा मुद्रास्फीति घट्यो

भारतमा मुद्रास्फीति घटेको छ । अप्रिलमा थोक मूल्यमा आधारित मुद्रास्फीति सूचक ३ दशमलव शून्य ७ प्रतिशतमा आएको छ । सन् २०१८ को सोही अवधिमा यो सूचक ३ दशमलव ६२ प्रतिशत थियो । सूचक यसै वर्षको मार्चकोभन्दा कम हो । मार्चमा डब्ल्यूपीआई ३ दशमलव १८ प्रतिशत रहेको थियो । चालू आवको अहिलेसम्मको अवधिमा भने ‘बिल्ड अप’ मुद्रास्फीति शून्य दशमलव ७५ प्रतिशत रहेको छ ।

डब्ल्यूपीआई डालोमा २ तिहाई भार रहेको म्यानुफ्याक्चर्ड वस्तुहरुको मूल्यमा आएको तीव्र कमीको कारण सो अवधिमा समग्र डब्ल्यूपीआई घटेको हो । समीक्षा अवधिमा म्यानुफ्याक्चर्ड वस्तुको मुद्रास्फीति १ दशमलव ७ प्रतिशतमा आएको छ । यो ३० महीनायताकै न्यून हो ।

त्यस्तैगरी, पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीले पनि डब्ल्यूपीआई घटाएको हो । तर गतमहीना खाद्य वस्तुको मूल्य भने बढेर ७ दशमलव ७३ प्रतिशतको उचाईमा पुगेको छ । यो ३३ महिनायताकै उच्च हो ।

समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यमा भएको चर्को वृद्धिले म्यानुफ्याक्चर्ड वस्तुको भाउमा आएको कमीको प्रभावलाई समेत उल्टाएको छ । भविष्यमा मुद्रास्फीतिलाई विश्व बजारमा तेलको भाउमा देखिने उतार चढाव र घरेलु बजारमा खाद्य वस्तुको मूल्यले निर्धारण गर्ने विश्लेषण गरिएको छ । पछिल्लो समय अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढिरहेको छ भने गर्मीयाम शुरु भएसँगै घरेलु बजारमा खाद्य वस्तुको मूल्य पनि बढ्ने क्रममा रहेको छ । यसले मुद्रास्फीतिमा दबाब बढाउने निश्चित प्रायः रहेको विश्लेषकहरु बताउँछन् । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]