Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल राष्ट्र बैंकले बैंकिङ कारोबारका लागि अनुमति दिएका संस्थाहरु 

admin २०७३ जेष्ठ ३० गते
सेयर:

nrbबैंक भनेको मूलतः पैसाहरुको कारोबार गर्ने संस्था हो । बैंकलाई वित्तीय मध्यस्थकर्ता भनेर पनि चिनिन्छ र बैंकले वचतकर्ताहरुबाट निक्षेप स्वीकार गर्दछ भने सो निक्षेप उद्यम गर्न चाहने तर पैसाको अभाव हुने व्यक्ति वा संस्थालाई कर्जाको रुपमा प्रदान गर्दछ । अर्थतन्त्रमा एउटा समुह वा वर्गबाट दायित्वको रुपमा वचत संकलन गरी सो दायित्वलाई पुनः उत्पादनशील प्रयोजनका लागि सम्पतिको रुपमा कर्जा प्रवाह गर्ने हुँदा बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय मध्यस्थकर्ता पनि भन्ने गरिन्छ । नेपाल राष्ट्र बैँकबाट इजाजत प्राप्त बैँक तथा वित्तीय संस्थाहरु निम्नानुसार छन् :

क देखि घ वर्गका वित्तीय संस्थाहरु
बैंक तथा वित्तीय संस्थाहरु राज्यको कानुन बमोजिम स्थापना र सञ्चालन भएका हुन्छन् । नेपालमा अहिले क ख ग घ गरी चार वर्गका बैंक तथा वित्तीय संस्थाहरु रहेको छन् । क वर्गका संस्थालाई वाणिज्य बैंक, ख वर्गका संस्थालाई विकास बैंक, ग वर्गका संस्थालाई वित्त कम्पनी र घ वर्गका संस्थालाई लघु वित्त विकास बैंक भन्ने गरिएको छ । ख, ग, र घ वर्गका संस्थालाई एकमुष्ट रुपमा वित्तीय संस्था पनि भन्ने गरिएको छ । यी चारै प्रकारका संस्थालाई एकै साथ भन्नुपर्दा बैंक तथा वित्तीय संस्था भनिन्छ । यसैलाई बैंकिङ प्रणाली पनि भन्ने गरिएको छ । सर्वसाधारणसँग रहेको रकमलाई वचतको रुपमा संकलन गरी त्यस्तो वचतलाई लगानीको लागि रकम आवश्यक पर्ने व्यक्ति वा संस्थालाई ऋणको रुपमा रकम उपलब्ध गराउने संस्थाहरु नै बैंक तथा वित्तीय संस्थाहरु हुन् । 

बैंक÷वित्तीय संस्थाहरुले निक्षेपका रुपमा वचत स्वीकार गर्ने र कर्जा अर्थात ऋण प्रदान गर्ने कार्यका अतिरिक्त एक ठाउँको रकम ठाउँमा पठाउने विप्रेषण कारोबार, विदेशी मुद्रा सटही गरिदिने, प्रतीतपत्र कारोबार गर्ने र अन्तराष्ट्रिय लेनदेनलाई सजिलो बनाउने, ड्राफ्ट तथा टि.टी मार्फत् पैसा पठाइदिने, सरकारी कारोबार गर्ने, सुनचाँदी कर्जा, ओभर ड्राफ्ट सुविधा, बैंक ग्यारेन्टी जस्ता विभिन्न वित्तीय कारोबारहरु समेत गर्ने गर्दछन् । बैंक÷वित्तीय संस्थाले गर्ने कारोबार नियम वा कानुन वा कानुनसम्मत ढङगले भए नभएको बारे निरन्तर अनुगमन गर्नु आवश्यक हुन्छ । कानुन बमोजिम बैंक तथा वित्तीय संस्था सञ्चालन नभएमा वा कुनै अप्ठ्यारोमा पर्न गएमा सर्वसाधारणको निक्षेप (पैसा) जोखिममा पर्न सक्छ । त्यस्तो अवस्था नआवस् भनेर बैंक तथा वित्तीय संस्थाहरुको कारोबार हेर्ने अर्थात् नियमन र सुपरिवेक्षण गर्ने जिम्मेवारी नेपाल राष्ट्र बैंकलाई प्रदान गरिएको छ ।

जनचेतना जागृतिका लागि गैरसरकारी संस्थाहरु 
ग्रामीण तथा तल्लो तहका जनसमुदायसम्म पुगेर शिक्षा, स्वास्थ्य सरसफाई लगायतका जनचेतना सम्बन्धी कार्य गर्ने केही गैर सरकारी संस्थाहरुलाई समेत नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोवार गर्ने अनुमति प्रदान गरेको छ । सीमित बैँकिङ कारोवार गर्न अनुमति प्राप्त यस्ता गैरसरकारी संस्थाहरुको अहिलेको ३१ संख्या रहेको छ । यी संस्थाहरु संस्था दर्ता ऐन, २०३४ अनुसार स्थापना र सञ्चालन भएका हुन् र यी संस्थाको वित्तीय कारोवारको नियमन तथा सुपरिवेक्षण समेत नेपाल राष्ट्र बैंकबाट हुँदै आएको छ । यस प्रकारका गैर सरकारी संस्थाहरुलाई निश्चित समय सीमाभित्र आवश्यक पूर्वाधारहरु पूरा गरी घ वर्गको लघु वित्त संस्थामा स्तरोन्नति गर्ने नीति नेपाल राष्ट्र बैंकले अङ्गीकार गरेको छ ।

अन्य वित्तीय संस्थाहरु 
माथि उल्लेख गरिएका बैंक तथा वित्तीय संस्थाका अतिरिक्त नेपालको वित्तीय बजारमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड,२५ वटा निर्जीवन तथा जीवन बीमा कम्पनीहरु, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण निगम लि., कर्जा सुचना केन्द्र लि., हुलाक वचत बैंक र केही कमोडिटिज स्टक एक्स्चेञ्जले समेत वित्तीय कारोवार गरिरहेका छन् । यसमध्ये नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण निगम लि., र कर्मचारी सञ्चय कोगाको नियामक निकाय नेपाल सरकार, अर्थ मन्त्रालय हो भने बीमा कम्पनीहरुको नियामक वकाय बीमा समिति हो । त्यसैगरी, नेपाल स्टक एक्स्चेन्ज लि. र कमोडिटिज एक्स्चेन्ज कम्पनीहरुको नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्ड रहेको छ ।

ग्रामीण तहमा वित्तीय पहुँच विस्तारका लागि बचत तथा ऋण सहकारी संस्था
ग्रामीण तहसम्म वित्तीय सेवाको पहँुच स्थापित होस् भन्ने अभिप्रायले नेपालमा सहकारी संस्थाहरुको स्थापना द्रुत गतिमा भइरहेको छ । बचत तथा ऋण सहकारी संस्था र बहुउद्धेश्यीय सहकारी संस्था स्थापनाका लागि नेपाल सरकार सहकारी विभागले स्वीकृति प्रदान गर्दछ । हाल नेपालभर करिब १२,००० जति वचत तथा ऋण सहकारी संस्थाहरु र करिब ४५,००को हाराहारीमा रहेका बहुउद्धेश्यीय सहकारी संस्थाहरु समेत जम्मा १६,५०० भन्दा बढी सहकारी संस्थाहरु नेपालको वित्तिय बजारमा कार्यरत छन् । यस्ता सहकारी संस्थाहरु सहकारी ऐन २०४८ बमोजिम स्थापना भएका हुन् र तिनले नेपालको वित्तिय क्षेत्रमा वित्तीय पहँुच अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छन् । यी सहकारी संस्थाहरुले गाउँगाउँ र टोल टोलसम्म सर्वसाधारण जनतालाई वित्तीय सेवा प्रदान गर्नुका अतिरिक्त सदस्यहरुलाई बैंकिङ बानी पनि सिकाइरहेका छन् । सर्वसाधारण जनताको आर्थिक तथा सामाजिक विकासको लागि पारस्पारिक सहयोग र सहकारिताका आधारमा सदस्यता वितरण गरी सदस्यहरुका बिचमा मात्र वचत तथा ऋण कारोबार गर्ने उद्धेश्यले वचत तथा ऋण सहकारी संस्थाहरु स्थापना भएका हुन्छन् । यस्ता सहकारी संस्थाको नियामक तथा सुपरिवेक्षकीय निकायको रुपमा हाल नेपाल सरकारको सहकारी विभागले काम कारवाही गर्दै आएको छ । आगामी दिनमा सम्पूर्ण सहकारी संस्थाहरुको कारोवारलाई प्रभावकारी ढङ्गले नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी दोस्रो सुपरिवेक्षकीय संस्था स्थापना गरी सो कार्यलाई व्यवस्थित गर्ने योजना समेत रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।