May 14th, 2019

तीन लघुवित्त एक आपसमा गाभिदै, एकिकृत कारोबार साउनदेखि

बैंकिङ खबर । मिर्मिरे लघुवित्त, किसान माइक्रोफाइनान्स, नागबेली लघुवित्त गरी ३ वटा लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभिने भएका छन् । तीनवटै लघुवित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकबाट ईजाजत पत्र प्राप्त गरी बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ तथा कम्पनी ऐन, २०६३ तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार स्वीकृत कार्यक्षेत्रमा लघुवित्तीय कारोवार संचालन गर्दै आएका छन् ।

वित्तीय संस्थाको सबलीकरणका लागि नेपाल राष्ट्र बैंकबाट मर्जर तथा एक्विजिसन प्रकृयालाई प्रोत्साहन गर्दै आएको तथ्यलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन २०६३ तथा प्रचलित कानूनमा भएको व्यवस्था अनुसार हामी तीनवटै वित्तीय संस्थाहरुले एक आपसमा गाभिई सबल तथा उत्कृष्ट राष्ट्रियस्तरको “घ” वर्गको वित्तीय संस्था हुने लक्ष्य राखी यस सम्बन्धमा उचित रणनीति लिई कार्यान्वयन गर्नुपर्ने भएकाले यी संस्थाहरु मर्जरमा जाने भएका हुन् ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडमा नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड र किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड गाभी एउटै संस्था बनाउँदा पूँजीमा अभिबृद्धि हुन गई सबल र दीगो लघुवित्तीय कारोवार गरी व्यवसायिक र संस्थागत लक्षित उपलब्धि हासिल भई लक्षित वर्गलाई सहज, सरल र दीगो लघुवित्तीय सेवा समेत प्रदान गर्न सक्नेमा विश्वस्त भई तीनवटै पक्ष एक अर्कामा गाभ्न र गाभिन सहमत भएका हुन् ।

सम्झौतामा मिर्मिरे लघुवित्तका अध्यक्ष टेकबहादुर बोहरा, नागबेली लघुवित्तका अध्यक्ष दीपबहादुर श्रेष्ठ र किसान माइक्रोफाइनान्सका अध्यक्ष नेत्रप्रसाद जोशीले हस्ताक्षर गरेका छन्।

साथै मर्जरको लागि एक समिति पनि गठन गरिएको छ । समितिमा मिर्मिरेका सन्तोष फुयाल संयोजक छन् भने सञ्जयकुमार श्रेष्ठ र खिमाराज न्यौपाने सदस्य रहेका छन्।

२ महिना भित्र मर्जको काम सकेर साउन १ गतेदेखि एकीकृत कारोबार गर्ने लक्ष्य राखिएको मिर्मिरेका कम्पनी सचिव तुलसीराम पातःकले बताए । मिर्मिरेसँग बाँकी दुई गाभिने भएका हुन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]