May 2nd, 2019

बिमांकी रोस्टरमा १७ जनाको आवेदन

बैंकिङ खबर । बीमा समितिले निर्माण गरेको बिमांकी रोस्टरमा १७ बिमांकीले निवेदन दिएका छन् । बिमा कम्पनीहरूले वित्तीय विवरणका लागि बिमांकीय मूल्यांकन गर्न बिमांकीको आवश्यकता पर्छ । त्यसैगरी, कम्पनीहरूले नयाँ बिमा योजना बनाउँदा पनि बिमांकीकै आवश्यता पर्छ । तर, हालसम्म नेपालमा एउटा पनि बिमांकी नभएका कारण बीमा कम्पनीहरू विदेशी बिमांकीकै भर पर्दै आएका छन् । नयाँ बिमा कम्पनीलाई अनुभवी बिमांकी पाउन कठिन हुन थालेपछि बीमा समितिले बिमांकी रोस्टर निर्माण गरेको हो ।

नेपालीसहित १७ जनाले दिए आवेदन
नेपाली बीमा कम्पनीसँग काम गर्न विभिन्न मुलुकका १७ बिमांकीले आवेदन दिएका छन् । भारत, अमेरिका र बेलायतका बिमांकी सोसाइटीबाट बिमांकीको लाइसेन्स लिएकाले बिमांकी आवेदन दिएका छन् । यसरी आवेदन दिएकामध्ये एकजना नेपाल महिला बिमांकी पनि छिन् । आवेदन दिनेमध्येमा अधिकांश भारतीय छन् ।

१४ जीवन बीमाका लागि १२ जनाले निर्जीवनका लागि
बिमांकी रोस्टरमा आवेदन दिएकामध्ये १४ जना बिमांकीले जीवन बिमा कम्पनीको बिमांकीय मूल्यांकनका लागि आवेदन दिएका छन् । त्यस्तै, १४ जना बिमांकीले निर्जीवन बिमा कम्पनीको बिमांकी मूल्यांकनका लागि आवेदन दिएका छन् । ९ जना बिमांकीले भने जीवन र निर्जीवन दुवै बिमा कम्पनीको बिमांकी मूल्यांकन गर्न आवेदन दिएको बिमा समितिका निर्देशक कमल रेग्मीले जानकारी दिए ।

बिमांकी भनेको के हो 
नेपालको बिमा ऐन २०४९ को दफा २ अनुसार ‘बिमांकी’ भन्नाले बिमा व्यवसायमा भएको दायित्व निर्धारण तथा गणना गर्न बिमा कम्पनीद्वारा नियुक्त गरिएको व्यक्ति हो । उनीहरूले कम्पनीका विगत र वर्तमानको तथ्यांक विश्लेषण गरी भावी योजना बनाउन सहयोग गर्छन् । ‘बिमांकी’ कुनै विश्वविद्यालयको औपचारिक उपाधि नभई चार्टर्ड एकाउन्टेन्टजस्तै पेसागत उपाधि हो ।

ऐनमा के छ 
बिमा ऐन २०४९ को दफा २६ अनुसार जीवन बिमा व्यवसाय गर्ने बिमकले प्रत्येक ३–३ वर्षमा आफ्नो आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन बिमांकीद्वारा गराउनुपर्छ । अन्तर्राष्ट्रियस्तरमा यस्तो मूल्यांकन प्रत्येक वर्ष गरिन्छ । नेपालमा पनि जीवन बिमा कम्पनीहरूले प्रत्येक वर्ष यस्तो मूल्यांकन गर्दै आएका छन् । समितिले प्रस्ताव गरेको नयाँ बिमा विधेयकमा भने सबै कम्पनीले प्रत्येक वर्ष अनिवार्य रूपमा ‘बिमांकी’ मूल्यांकन गराउनुपर्ने व्यवस्था गरिएको छ । नयाँ पत्रिकाबाट