June 10th, 2016

साताभर चर्चामा रहेका बैंकिङ गतिविधिहरु

Magnifying glass, Euros and figurineहरेक साताको अन्तिम दिन शुक्रबार बैँकिङ खबर डट कमले साताभरिका बैँकिङ गतिविधिहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैँक तथा वित्तिय क्षेत्रमा विभिन्न गतिविधिहरु भए । बैँक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यस साताभर बैंक तथा वित्तीय क्षेत्रका विज्ञहरुले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को संशोधनको विषयमा धेरै चर्चा भयो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

वाफिया संशोधन
बैंक अध्यक्ष तथा सञ्चालकहरु सदस्य रहेको अर्थ समितिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक अर्थसमितिबाट पूर्णसदनमा पुगेको दुई साता वितिसकेपनि सोमबार आर्थिक पत्रकार समाज(सेजन)ले यसै विषयलाई लिएर अन्तक्र्रिया कार्यक्रम सम्पन्न गर्यो । हुन त वाफियालाई केही बैंकर सांसदहरुले आफूअनुकुल संशोधन गरेपछि यसको चर्चा सेलाउन पाएको थिएन । यो साताभर पनि सोही विषयले चर्चा पायो । यस विषयमा थुप्रै अर्थविद्हरुले आफ्नो धारण राखे । समग्रमा यसरी संशोधन गरिएको विधेयक जस्ताको तस्तै पारित भए वित्तीय क्षेत्रमा ठूलो संकट निम्तिने निष्कर्ष निकालिएको छ । 

शेयर निष्काशन
गुर्खाज फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई हकप्रद र बोनश सेयरको प्रमाणपत्र वितरण शुक्रबारदेखि सुरु गरेको छ । साताको सोमबार नेशनल माइक्रोफाइनान्सले ३ करोड रुपैँया बराबरको ३ लाख कित्ता साधारण शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पायो । यसै साताको आइतबारदेखि सुरु भएको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको साधारण शेयरको निष्काशन तथा बिक्री बुधबारदेखि बन्द भयो । मञ्जुश्री फाइनान्सियल इन्ष्टिच्युसनले जारी गर्न लागेको १ बराबर १.७५ को अनुपातको हकप्रद शेयरको प्रस्ताव बुधबार सम्पन्न साधारणसभाले स्विकृत गर्यो । साताको सोमबार स्टाण्डर्ड चार्टर्ड बैंकले आफ्ना शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १९.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भयो । 

मर्जर
काष्ठमण्डप डेभलमपेन्ट बैंक लिमिटेडले पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई पनि खरीद गर्ने भएको छ । दुबै संस्थाबीच एक्विजिसन गर्ने सम्झौता भयो । प्राइम प्राइम कमर्सियल बैंक लिमिटेडले विराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेड खरिद गर्ने भएको छ । साताको सोमबार प्राइम र यी दुई विकास बैंकबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भयो ।

शाखा तथा सेवा विस्तार
एनएमबि बैंकले आफ्नो डेविट कार्डको प्रयोगमा ५ प्रतिशतको छुट योजना यसै सातादेखि ल्यायो । 

राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपाल म्यानमारको केन्द्रिय बैँक नाई पेई ताउद्धारा आयोजित एसीयूका सञ्चालकहरुको ४५ औँ वैठकमा भाग लिएर मंगलबार स्वदेश फर्किए ।