बैंकिङ खबर । नेपाल राष्ट्र बैंकबाट घ वर्गकोे इजाजतपत्र लिएर काम गरेका संस्थाहरु नै लघुवित्त वित्त संस्थाहरु हुन् । लघुवित्त भनेको थोरै आय आर्जन भएका वा प्रचलित बैंकहरुसम्म प्रत्यक्ष पहुँच नभएका व्यक्तिहरुप्रति लक्षित वित्तीय सेवा हो । लघुवित्त विकास बैंकहरु ग्रामीण भेगमा थोरै थोरै पुँजी परिचालन गरेर संचालित हुन्छन् । यस्ता बैंकहरु जनताको घर दैलोमा पुगेर वित्तीय चेतनाको विकास गर्ने तथा सानो सानो कर्जा प्रवाह गर्ने गर्दछन् । लघुवित्त संस्थाहरुले गरीब तथा विपन्न व्यक्तिहरुलाई बिना धितो कर्जा उपलब्ध गराँउदै आइरहेका छन् । लघुवित्त सेवाले सर्वसाधरणहरुलाई गरिबीबाट माथि उठाउन सहयोग गर्ने भएतापनि यो आफैंमा गरिबी निवारणको साधन भने होइन ।
कर्जा प्रक्रिया
लघुवित्त वित्तीय संस्थाहरुले गरिब तथा विपन्न व्यक्तिहरुलाई धितो वा बिना धितो कर्जा प्रवाह गर्दै आएका छन् । लघुवित्त संस्थाहरुले कर्जा दिँदा सबैभन्दा पहिले सदस्यहरुको पहिचान (व्यक्तिगत विवरण, आयआर्जनको माध्यम छ कि छैन ? आयआर्जन छ भने मासिक कति कमाई हुन्छ ? के कामको लागि कर्जा लिन लागेको हो ? कस्तो व्यवसाय सञ्चालन गर्ने हो ? कुन कर्जा लिने हो ? कसले छानविन गर्दछ ? त्यस्तै, संचालन गर्न लागेको व्यवसाय सम्बन्धि तालिम, लघुवित्तका नियम कानुनहरु, ऋण तिर्ने प्रक्रिया, लगायत लघुवित्तका आधारभुत सिद्धान्तहरुका बारेमा जानकारी गराएर मात्रै लघुवित्तहरुले कर्जा दिने गरेका छन् ।
लघुवित्त संस्थाले दिने कर्जाहरु
लघुवित्त वित्तीय संस्थाहरुले सर्वसाधरणहरुलाई विभिन्न कर्जा उपलब्ध गराउँदै आइरहेका छन् । लघुवित्त संस्थाहरुले साधारण कर्जा, कृषि कर्जा, लघु उद्यम कर्जा, उर्जा कर्जा, वैदेशिक रोजगार कर्जा, शैक्षिक कर्जा, आकस्मिक कर्जा, घर घडेरी कर्जा जस्ता कर्जाहरु उपलब्ध गराउँदै आएका छन् । सबै संस्थाहरुले दिने कर्जा एकै प्रकारको नभई संस्था अनुसार कर्जा फरक फरक हुन्छन् । सर्वसाधरणहरुलाई लघुवित्तहरुले साधारण कर्जा र आकस्मिक कर्जा मात्र बिनाधितो उपलब्ध गराउँदछन् । यसमा पनि समुहको ग्यारेन्टी भएपछि मात्र उनीहरुको आवश्यकता बुझेर शुरु गर्न लागिएको व्यवसायका बारे बुझेर कर्जा दिने गर्दछन् ।
लघुवित्त संस्थाले सबैभन्दा बढी कर्जा कृषिसँग सम्बन्धित व्यवसाय (फलफुल, तरकारी, पशुपालन), घरेलु उद्योगका लागि र व्यापार क्षेत्र (स–साना किराना पसल, होटल)का लागि कर्जा उपलब्ध गराउँदै आएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक रुपमा कमजोर भएका एवम् थोरै थोरै ऋण लिएर उद्यमशीलता हासिल गर्न चाहानेहरुलाई ऋण उपलब्ध गराउँदै आएका छन् । लघुवित्त वित्तीय संस्थाहरुले कृषि क्षेत्रको लगानीलाई बढी प्रोत्साहन गरेका छन् ।



