बैंकिङ प्रणालीमा लगानीयोग्य पूँजी बढेपनि तत्काल ब्याजदर घट्ने सम्भावना न्यून

बैंकिङ खबर । आइतबार बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंक तथा वित्तीय संस्थामा अब ब्याजदर घट्दै जाने बताए । ‘खोलौं बैंक खाता’ अभियानमा बोल्दै अध्यक्ष ढुंगानाले पछिल्लो समय बैंकहरु सचेत रहदै वित्तीय मध्यस्थता खर्च कम गरी कर्जाको ब्याजदर घटाउने प्रयास गरीरहेको जानकारी दिए । उनले अबको केही महिनाभित्र महशुस हुनेगरी कर्जाको ब्याजदर घट्ने अपेक्षा समेत गरे । तर विज्ञहरु भने बैंक तथा वित्तीय संस्थाको आचरणमा सुधार नहुँदा सम्म ब्याजदर नघट्ने निश्चत भएको बताउँछन् ।

तीन वर्ष यता वित्तीय बजारमा लगानीयोग्य रकमको अभाव हुँदा बैंकहरुबीच निक्षेप तानातानको अवस्था आएको थियो । जसले गर्दा निक्षेपको ब्याजदर निकै बढ्दै गयो । सामान्य तया शेयर बजार तथा अन्य व्यवसायमा लगानी गर्दा हुने प्रतिफल भन्दा बैंकको ब्याजदर उच्च हुन पुग्यो । यसले बैंकमा निक्षेप बढ्यो । तर त्यो भन्दा पनि बढी कर्जाको माग उच्च भएपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अभाव हुँदै गयो । कतिपय साना बैंकहरु लामो समेदेखि कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा छन् । यसले गर्दा ब्याजदरमा उच्च वृद्धि हुन पुगेको देखिन्छ ।

ब्याजदर घट्ने आधार
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्य भइसकेको छ । वित्तीय प्रणालीमा तरलता बढ्न सक्ने सम्भावना देखिएको छ । चैत मसान्तमा करिब ६० अर्ब बैंकिङ प्रणालीबाट सरकारी ढुकुटीमा राजश्वबापत रकम गएको छ । यसले केही हदसम्म असर पार्न सक्छ । तरपनि आर्थिक वर्षको अन्तिम त्रैमासमा प्रवेश गरेसँगै सरकारी खर्चमा हुँदै गएको वृद्धिले वित्तीय प्रणालीमा तरलता बढ्न थालेको छ । चैत महिनाको अन्तिम साताको तथ्याङक अनुसार पनि करिब १५ अर्ब निक्षेप संकलन हुँदा ७ अर्ब मात्र कर्जा लगानी भएको छ । त्यसैले बैशाख पछि सरकारी खर्च बढ्ने र वित्तीय प्रणालीमा अधिक तरलता हुने अवस्था भएमा निक्षेप तथा कर्जाको ब्याजदर घट्न सक्छ । यही आधारमा बैंकर्स संघका अध्यक्षले पनि केही महिनामा ब्याजदर घट्ने बताएका हुनसक्छन् ।

ब्याजदर नघट्ने सम्भावना
बैंक तथा वित्तीय संस्थाले पूँजी वृद्धि पछि पुरानै नाफा कायम राख्न ब्याजदरमा चलखेल गरिरहेका छन् । चार गुणा पूँजी वृद्धि भएपछि बैंकहरुले वितरण गर्दै आएको नाफाको दर घट्न गयो । जसले गर्दा बैंकहरुले नाफालाई पुरानै अवस्थामा कायम गर्न प्रयास गरीरहे । बजारमा निक्षेप पाउन छाडेपछि एक अर्काको बैंकमा भएको निक्षेप तानेरै भएपनि बैंकहरुले व्यवसाय गर्न थाले । यसले अस्वस्थ प्रतिस्प्रधा बढायो । फलस्वरुप निक्षेपको ब्याजदर उच्च भयो । कर्जाको ब्याजदर पनि बढ्यो । यसबीचमा बैंकहरुले पटक पटक सहमति गर्दै निक्षेपको ब्याजदर घटाउँदै गरे तर कर्जाको ब्याजदर कहिल्यै घटाएनन् । तयसैले विभिन्न बाहनामा ब्याजदर उच्च राखेरै आफ्नो नाफा बढाएको घोषणा गर्न पल्केका बैंकहरु अबपनि ब्याजदर घटाएर काम गर्छन भन्नेमा आशंका कायमै छ । त्यसैले विज्ञहरुपनि बैंकहरुको व्यवहारमा सुधार नआएसम्म जति निक्षेप बढेपनि ब्याजदरमा कमि आउन सक्ने सम्भावना कम भएको बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *