“खोलौं बैंक खाता ”अभियानको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने, बैंकर्स संघको विशेष कार्यक्रम

बैंकिङ खबर । २०७६ साल बैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले “खोलौं बैैक खाता” अभियानको उद्घाटन गर्ने भएका छन् । नेपाल बैंकर्स एसोसिएशनद्वारा राष्ट्रिय सभागृहमा “खोलौं बैंक खाता” अभियानको शुभारम्भ गरिने कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उक्त अभियानकोे शुभारम्भ गर्ने छन् । कार्यक्रममा २८ वटै वाणिज्य बैंकहरुले बैंकले खाता खोल्ने गरी स्टल समेत राखिने र सोहि स्थानमा बैंकहरुले राखेको स्टलबाट प्रधानमन्त्रीको उपस्थितिमा १ जना जेष्ठ नागरिकलाई बैंक खाता खोलाई उक्त अभियान शुभारम्भ गर्न लागिएको बैंकर्स संघले बताएको छ ।

बैंकर्स संघले उक्त अभियानको शुभारम्भको लागि भन्दै बैंशाख १ गते सार्वनजीक बिदा रहेको भएपनि देशभर रहेका सम्पुर्ण बैंक शाखा खोल्ने निर्णय गरिसकेको छ । विकास बैंकहरुले पनि उक्त अभियानलाई साथ दिन भन्दै आफ्ना केही शाखा खोल्न डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अध्यक्ष गोविन्द प्रसाद ढकालले जानकारी दिए ।

सरकारले यसअघि नै २०७६ साललाई “खोलौं बैंक खाता” अभियानको रुपमा अगाडी बढाउने घोषण गरेको थियो । सरकारको उक्त घोषणालाई सहयोग पुग्ने गरी नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट २०७६ सालमा बचत खाता खोल्नेहरुको खातामा १०० रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था गरिदिएको थियो ।

राष्ट्र बैंकको उक्त ब्यवस्था सँगै नयाँ वर्ष २०७६ सालमा बैंक खाता खोल्नेहरुले खातामा १०० रुपैयाँ उपहार स्वरुप पाउने भएका छन् । हरेक नेपालीको बैंक खाता अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले उक्त व्यवस्था गरिदिएको हो ।

सोही अभियानलाई मध्यनजर गर्दै राष्ट्र बैंकले बैंक खाता खोल्ने प्रकृयालाई पनि सहज बनाएको छ भने आवश्यक कागजातहरुमा पनि सहजकरण गरिदिएको छ । पहिले बैंक खाता खोल्दा अनिवार्य रुपमा नागरिकताको प्रमाणपत्र साथै तीन पुस्ताको विवरण खुलाउने अन्य कागजात पनि आवश्यक पर्दथ्यो तर राष्ट्र बैंकले उक्त व्यवस्थालाई सहजिकरण गर्दै ग्राहक पहिचान गर्दा नागरिकताको प्रमाणपत्र , राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र अथवा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिस मध्ये कुनै एउटा कागजातको आधारमा खाता खोल्न सकिने छ । त्यस्तै बैंकहरुले खाता खोल्ने फारमलाई पनि सरलिकृत गर्नुपर्नेे भएको छ । भने केवाईसि भनि भसर्नु पर्ने छैन ।

खातामा १०० रुपैयाँ प्राप्त गर्नको लागि खाता खोल्दा ग्राहकको अन्य बैंक खाता नभएको स्वघोषणा भने लिनुपर्ने हुन्छ । यसरी खोलिएको खाताको वार्षिक अधिकतम कारोबार सीमा भने १ लाख रुपैयाँ मात्र रहेको छ । कारोबार रकम १ लाख रुपैयाँ नाघेमा भने तीनपुस्ते सहितको सम्पुण विवरण बुुझाउनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *