बैंकिङ खबर । बैशख १ गते सबै नेपालीको निशुल्क बैंक खाता खोल्ने अधियान शुरु हुने भएकाले बैंकहरुले उक्त दिन बैंकका शाखा खोल्ने भएका छन् । बैंकर्स संघमा आवद्ध बैंकहरुले देशैभर शाखा खोल्न लागिएको बैंकर्सहरुले जानकारी दिएका छन् ।
सरकारले एक व्यक्ति एक बैंक खाता सञ्चालन गर्न लागेको हो । त्यसका लागि वाणिज्य बैंकहरुले बैशाख १ गते देखि अभियान शुरुहुने भएकाले सबै शाखा सञ्चालन गर्ने बताएका हुन् ।
बैंक खाता खोल्ने अभियान शुरु हुने भएपछि राष्ट्र बैंकले खाता खोल्ने प्रकृयालाई पनि सहज बनाएको छ । आवश्यक कागजातहरुमा पनि सहजकरण गरिदिएको छ । पहिले बैंक खाता खोल्दा अनिवार्य रुपमा नागरिकताको प्रमाणपत्र साथै तीन पुस्ताको विवरण खुलाउने अन्य कागजात पनि आवश्यक पर्दथ्यो तर राष्ट्र बैंकले उक्त व्यवस्थालाई सहजिकरण गर्दै ग्राहक पहिचान गर्दा नागरिकताको प्रमाणपत्र , राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र अथवा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिस मध्ये कुनै एउटा कागजातको आधारमा खाता खोल्न सकिने छ । त्यस्तै बैंकहरुले खाता खोल्ने फारमलाई पनि सरलिकृत बनाउने भएका छन् ।