June 8th, 2016

यी हुन् लगानीका लागि नेपालले अमेरिकासँग प्रस्ताव गर्न लागेका क्षेत्रहरु

nepal usaनेपालले विभिन्न क्षेत्रमा लगानी गर्नका लागि अमेरिकासमक्ष प्रस्ताव गर्ने भएको छ । नेपाल–अमेरिकाबीचको दोस्रो व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता (टिफा) काउन्सिलको बैठकमा नेपालले यस्तो प्रास्ताव गर्ने भएको हो । बैठक विहिबारदेखि अमेरिकाको वासिंगटन डिसीमा सुरु हुँदैछ । झन्डै ५ वर्षपछि हुन लागेको टिफा काउन्सिलको बैठकमा नेपालले नेपाली वस्तुलाई अमेरिकामा सहज बजारको पहुँचका साथै ४ क्षेत्रमा लगानीको प्रस्ताव राख्ने भएको हो ।

टिफा काउन्सिलको बैठकमा भाग लिन वाणिज्यमन्त्री जयन्त चन्द नेतृत्वमा वाणिज्य सचिव ङइन्द्र उपाध्याय, कृषिसचिव उत्तमकुमार भट्टराई, वाणिज्य सहसचिव रविशंकर सैजु, भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानालगायत मंगलबार अमेरिका प्रस्थान गरेका छन् । 

टिफा काउन्सिलको बैठकमा नेपालले बढी सम्भावना भएका जलविद्युत्, पर्यटन, उद्योग र सेवा क्षेत्रमा लगानीको प्रस्ताव राख्ने भएको छ । नेपालले द्विपक्षीय व्यापार तथा लगानी विकासको विषयलाई मुख्य एजेन्डा बनाएको छ । बढी निर्यात हुने तयारी पोसाकमा शून्य भन्सारको सुविधाको प्रस्ताव पनि नेपालले राख्ने भएको छ । यस वर्ष अमेरिकाले ६६ वस्तुमा भन्सार छुट दिए पनि तयारी पोसाक परेको छैन । गत आर्थिक वर्षमा अमेरिकामा ७ अर्ब ७९ करोड रुपैयाँ निर्यातमध्ये शून्य भन्सार सुविधा प्राप्त गरेका ६६ वस्तुको ८० करोड ८६ लाख रुपैयाँ निर्यात भएको छ । यो अमेरिका निर्यातको १० प्रतिशत मात्र हो ।

बैठकमा बौद्धिक सम्पत्तिको अधिकार, भन्सार तथा व्यापार सहजीकरण, नेपाली वस्तुलाई सहज बजारको पहुँच तथा प्राविधिक सहायता, सेनेटरी एन्ड फाइटोसेनेटरी (एसपीएस), वस्तुको स्ट्यान्डर्ड, औद्योगिक र सेवा क्षेत्रमा केन्द्रित छलफल हुने बताइएको छ । बैठकमा अमेरिकाले नेपाली वस्तुलाई बजार पहुँचमा प्राथमिकता अवस्था अद्यावधिक गर्नेछ भने नेपालले प्राविधिक सहायताको प्राथमिकता जानकारी दिनेछ ।