बैंकिङ खबर। नेपाल लगानी सम्मलेन २०१९ मा भएको सम्झैता बमोजिम भारतको मुथुट फाइनान्सले यूनाइटेड फाइनान्समा लगानी गरेको छ । लगानी सम्मेलनमा मुथुट फाइनान्सका अध्यक्ष एमजी जर्ज मुथुट र युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीबीच मुथुट फाइनान्सले यूनाइटेड फाइनान्समा ३९ करोड ९० लाख रुपैयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता अनुसार केही दिनअघि एक कार्यक्रम आयोजना गरी मुथुट फाइनानसले युनाइटेड फाइनान्सलाई चेक हस्तान्तरण गरेको थियो । लगानी सम्मेलनअघि नै मुथुट ग्रुपले नेपाली फाइनान्स क्षेत्रमा लगानी ल्याउने समझदारी गरेको थियो । लगानी सम्मेलनको अवसर पारेर चौधरी ग्रुपपले मुथुट गु्रुपको नेपालमा लगानी सुनिश्चित गराएको हो ।
मुथुट फाइनान्सले प्रतिकित्ता १ सय रुपैयाँमा ९० रुपैयाँ प्रमियम थपेर १ सय ९० रुपैयाँमा २१ लाख कित्ता शेयरमा लगानी गरेको हो । युनाइटेड फाइनान्सका अध्यक्ष बसन्त चौधरीले मुथुट फाइनान्सले नेपालमा लगानी गर्नुलाई गर्व गर्ने अवसर भएको बताएका थिए । मुथुटका अध्यक्षले लगानी सम्मेलनमा नेपालको बैंकिङ क्षेत्रमा लगानी गर्ने घोषणा गर्दै नेपालमा लगानीको वातावरण बनेकोले बीमा तथा शिक्षाको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका थिए । भारतको केरलमा कार्यालय रहेको मुथुटका ६७ करोड भन्दा बढी ग्राहक रहेका छन् ।