March 25th, 2019

नेपाल लाइफको घातक रोग सुविधा बीमा योजना, ५० लाख सम्मको जोखीम बहन हुने

बैंकिङ खबर। नेपाल लाइफ इनस्योरेन्सले विभिन्न घातक रोगहरू (क्रिटिकल इल्नेस) को जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ । इन्स्योरेन्सले ५० लाख रुपैयाँ सम्मको जोखीम वहन हुने ‘घातक रोग सुविधा योजना’ नामक बीमा योजना सार्वजनिक गरेको हो । समयको माग र सेवाग्राहीहरूको आवश्यकतालाई दृष्टिगत गरी उक्त बीमा योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । आम सर्वसाधारणलाई घातक रोग लाग्दा आइपर्ने सक्ने आर्थिक संकटलाई दृष्टिगत गरी उक्त योजना अघि सारेका प्रमुख कार्यकारी अधिकृत विवेक झा बताउँछन् । विश्वव्यापी रूपमा बढ्दै गएको घातक रोगहरूको उच्च जोखिमको अवस्थामा उक्त बीमा योजनाले सेवाग्राहीहरूको क्षतिलाई न्यूनीकरण गर्न ठूलो सहयोग पुग्ने विश्वास लिएका कम्पनीले बताएको छ ।

उक्त बीमा सेवाको लागि थप सुविधा लिनुपर्ने हुन्छ । थप सुविधा लिएको सेवाग्राहीले बीमा अवधिमा तोकिएका घातक रोग लागेमा कम्पनीले जोखिम बहन गर्नेछ भने साविकको बीमा योजना भने पुरा अवधिसम्म चालू रहनेछ । यस पूरक करारले थप जोखिम बहन गर्ने कम्पनीको भनाई छ । ऐच्छिक सुविधा लिनको लागि पूरक करार पहिला कुनै अन्य योजनाको जीवन बीमा गरेका नयाँ तथा पुराना सेवाग्राहीहरुले तोकिएका शर्तहरू पूरा गरी उक्त सुविधा लिन सक्नेछन् ।

कम्पनीको उक्त योजनाले क्यान्सर, अन्तिम चरणको मृगौला विफलता, प्राथमिक पल्मुनरी धमनी उच्च रक्तचाप, सिम्पटम्स मल्टिपल स्क्लेरोसिस, मुख्य अंग प्रत्यारोपण, ओपन चेष्ट सीएबीजी, महाधमनीको शल्यक्रिया, ओपन हार्ट सर्जरी वा मुटुका भल्भहरूको मर्मत, मष्तिस्कघात, माइयोकार्डिअल इन्फ्राक्सन वा पहिलो हृदयाघात, कोमा, पूर्ण अन्धोपन, स्थायी रूपले भएको अंगहरूको पक्षाघात, अन्तिम चरणको कलेजोको विफलता, अन्तिम चरणको फोक्सोसम्बन्धी रोग, अल्जाइमर्स रोग, पार्किन्सन्स रोग, तेस्रो डिग्रीमा पोलेको÷डढेको लगायत घातक रोगको जोखिम वहन गर्ने छ । यस बीमा योजनामा सहभागी हुन नियमित बीमाशुल्कमा न्यूनतम रकम मात्र थप गरे पुग्ने बताइएको छ ।

कम्पनी विश्वव्यापी परामर्शदाता कम्पनी फ्रष्ट एण्ड सुलिभानद्वारा उत्कृष्ट सेवा सुविधा तथा व्यवस्थापन भएको कम्पनीलाई प्रदान गरिने ‘बेष्ट प्राक्टिस अवार्ड २०१६’ अन्तर्गतको फाइनान्सियल इन्ष्टिच्यूशन अफ द इयर– इन्स्योरेन्स कम्पनी’ अवार्ड बाट सम्मानित भएको थियो ।

नेपाल लाइफले आफ्ना सेवाग्राहीहरूलाई ६५ देखि ८२ रुपैयाँसम्म प्रतिहजारमा बोनस दिने कम्पनी हो । चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीकोे जीवन बिमा कोषमा ५९ अर्ब ४९ करोड रुपैयाँ र लगानी ६५ अर्ब ९८ करोड रुपैयाँ रहेको छ । १ लाख १६ हजार भन्दा बढी अभिकर्ता रहेको कम्पनीले १७० शाखाहरूबाट स्वदेश र विदेश समेत गरी २५ लाख भन्दा बढी सेवाग्राहीलाई बीमा सेवा उपलब्ध गराएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]