बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई प्राथमिकता प्राप्त क्षेत्रमा लगानी नगरे कारवाही गर्ने बताएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नियमन गर्ने नियमावली संशोधन गर्दै प्राथमीकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकले निर्देशन गरे बमोजीम लगानी नगर्ने बैंक तथा वित्तीय संस्थालाई कारबाही गर्ने बताएको होे ।
राष्ट्र बैंकले बैंकहरुलाई कृषि क्षेत्रमा न्यूनतम १० प्रतिशत र उर्जा तथा पर्यटनको क्षेत्रमा न्यूनतम १५ प्रतिशत तथा विपन्न बर्गमा न्यूनतम ५ प्रतिशत लगानी गर्न भनेको छ । यसरी राष्ट्र बैंकले छुट्याएको क्षेत्रमा कर्जा लगानी नगरे नपुग कर्जाकोे अधिकतम ब्याजदरको आधारमा जरीवाना लगाउने ब्यवस्था समेत गर्न लागेको राष्ट्र बैंकले जानएको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्षका पुष मसान्त सम्मको तथ्याङ्क अनुसार बैंकहरुले प्राथमिकताप्राप्त क्षेत्रमा १८ दशमलव ५४ प्रतिशत मात्र कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले भने उक्त क्षेत्रमा न्यूनतम २५ प्रतिशत कर्जा लगानी गर्न भनेको छ ।
राष्ट्र बैंकले कारोबार नभएका खाताहरुलाई डोरमेन्ट गर्न पनि निर्देशन दिएको छ । राष्ट्र बैंकले बचत खातातर्फ ३ बर्षसम्म र चल्ती तथा कल खाताहरु ६ महिनासम्म कारोबार नभए अनिवार्य रुपमा निष्क्रिय गर्न बैंकहरुलाई निर्देशन दिएको छ । उक्त खाता पुन संचालन गर्नु परेमा खातावालाले बैंकमा निवेदन दिनुपर्ने पनि बताइएको छ ।