March 17th, 2019

‘वित्तीय साक्षरता विकासमा लघुवित्तले खेलेको भूमिकालाई बिर्सनु हुँदैन’: रामबहादुर यादव

बैंकिङ खबर । अहिले लघुवित्त वित्तीयसंस्थाको स्तरउन्नतीको चर्चा चलिरहेको छ । सेवा मुलक संस्थाको रुपमा विकास हुनुपर्ने लघुवित्त क्षेत्र नाफामुलक क्षेत्रको रुपमा विकास भइराखेको टिप्पणिपनि हुने गरेको छ । नेपालमा लघुवित्तले गर्ने काम, कार्यक्षेत्र र वित्तीय साक्षरताका विषयमा निभाएको भूमिकामा आधारीत रहेर बैंकिङ खबरले नेपाल माईक्रोफाइनान्स बैंकर्स एसोसियसनका सचिब तथा नेशनल माईक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवसँग गरेको कुराकानी ।

पछिल्लो समय नेपालमा लघुवित्तहरुको अबस्था कस्तो छ ?
नेपालमा लघुवित्तहरु विस्तारै विकास हुने अवस्था छन् । देशका ७७ वटै जिल्लामा २७ सय भन्दा बढी शाखा कार्यालयहरु मार्फत करिब ३१ लाख बिपन्न घरपरिवारलाई सेवा पुर्याईरहेको अवस्था छ । जसले दुरदराज र ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा महत्वपूर्ण भूमिका खेलेको छ । लघुवित्त क्षेत्रमा १३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । लघुवित्त क्षेत्रले देशमा रोजगारी सिर्जना गर्नुको साथै ग्रामिण क्षेत्रमा रहेका बिपन्न परिवारको आर्थिक र सामाजिक विकासको साथै बिशेषतः महिलाहरुको शसक्तिकरण र नेतृत्व क्षमता बृद्धिमा अहम भूमिका निर्वाह गरिरहेको छ । लघुवित्त संस्थाहरुको हाल करिब १ खर्ब ६० अर्ब भन्दा बढी कर्जा लगानी रहेको छ भने बचत करिब ५५ अर्ब जति देखिन्छ । समग्रमा वित्तीय अवस्था सन्तोषजनक रहेपनि संख्यात्मक रुपमा लघुवित्तको व्यापक बिस्तार भइरहेको छ । यसले दिर्घकालिन रुपमा नकारात्मक असर गर्न सक्ने पक्ष हरुः कर्जाको दोहारोपना, अस्वस्थ प्रतिष्पर्धा, दक्ष कर्मचारीको अभाव, ग्राहकहरुको कर्जा अनुशासनमा कमी, लघुवितको आधारभुत मूल्य, मान्यता र सिद्धान्तमा सम्झौता र बिश्लेषण बिनाको अनियन्त्रित कर्जा लगानी तर्फ होडबाजी जस्ता कृयाकलापले दिन प्रति दिन लघुवित्त संस्थाहरुको कर्जाको गुणस्तर खस्किदै जानु र त्यसवाट समाजमा नाकारात्मक असर पारिरहेको छ । तथापी दुर्गम ग्रामिण क्षेत्रमा रहेका आम जनताको जीवनस्तर उकास्न र आर्थिक र सामाजिक विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । गरीबी निवारणमा समेत यसले निकै ठूलो भूमिका खेलेको जस्तो मलाई लाग्छ । सकरात्मक संगै नकरात्मक पाटोपनि संगै जोडिएर आउँछ । लघुवित्तकापनि केही नकरात्मक पाटोहरु छन् । अब यसलाई निराकरण गरेर लैजानुपर्ने देखिन्छ ।

लघुवित्तको कार्यक्षेत्र ग्रामिण क्षेत्रमा बढी केन्द्रित हुने भएकाले काम गर्न कठिनाइपनि हुने गरेको उदहरणहरु पाइन्छ । लघुवित्तक्षेत्रको मुख्य चुनौतिहरु के के छन् ?
लघुवित्त संस्थाहरुले समूहले दायित्व, बिश्वास र इमान्दारिताको आधारमा बिनाधितो कर्जा प्रवाह गर्दछन् । समाजमा सामूहिक भावना, जिम्मेवारीमा कमि, एक अर्का प्रतिको बिश्वास र सहयोगको भावनामा देखिएको कमिका कारण पछिल्लो समय कर्जाको गुणस्तर कायम गर्न चुनौति बढ्दै गएको छ । अर्कोतर्फ बैंकहरुमा तरलताको उत्तार चढावको अवस्थाले गर्दा बिपन्न वर्ग कर्जा सिमा भन्दा पनि बढी लगानी भई सकेकोले गर्दा लघुवित्तहरुमा कर्जा कोषको अभाव बढदै गएको छ । त्यस्तै, कर्जाको दोहोरोपना, कर्मचारीहरुको उच्च टर्नओभर, ग्राहकहरु पूणरुपमा व्यवसायिकरण तर्फ उन्मुख हुँदा लघुवित्त सेवाहरु प्रभावित हुँदै गएको छ । यस्ता चुनौतीहरु बढ्दै गएकाले नियामक निकायले लघुवित्तहरुलाई केही मापदण्ड तोकेर सर्वसाधारणवाट निक्षेप लिन सक्ने व्यवस्था, कर्जा सूचना केन्द्रको प्रभावकारी कार्यान्वयन, लघुवित्त संस्थाको संख्यात्मक बृद्धिलाई नियन्त्रण र ग्राहकको पूर्ण ब्यवसायिकरणकोलागी लघुवित्त संस्था, नेपाल सरकारको सम्वन्धित निकाय, गैर सरकारी र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको समन्वयात्मक भूमिका आवश्यक छ ।

अहिले लघुवित्तले काम गरिरहेको क्षेत्रमा पनि वाणिज्य बैंकहरु पुगेका छन् । सरकारले पनि एक स्थानीय तहमा वाणिज्य बैंक पुग्नै पर्ने व्यवस्था गरेको छ । यसले लघुवित्त व्यवसायमा कत्तिको असर पारेको छ ?
एउटा स्थानीय तहमा एउटा वाणिज्य बैंकको शाखा पु¥याउने सरकारको नीति एकदमै राम्रो छ । यसले लघुवित्तहरुलाई बेफाईदा भन्दापनि बढी फाईदा पुग्छ जस्तो मलाई लाग्छ । किनभने लघुवित्तले संकलन गरेको रकमको सुरक्षाका लागि वाणिज्य बैंकको आवश्यक्ता पर्छ । त्यसैले वाणिज्य बैंकहरु गाउँगाउँमा पुग्ने विषयलाई लघुवित्तहरुले अवसरको रुपमा लिएका छन् । यसले लघुवित्तहरुलाई विकास र विस्तार गर्ने बलियो आधार थपेको जस्तो मलाई लागेको छ । अर्काे कुरा हाम्रो उद्देश्य भनेको लघुवित्तको सेवाग्राही सधैभरी लघुवित्तबाट मात्रै सेवा लिइरहनु पर्छ भन्ने पनि होईन । लघुवितले बैंकिङ्ग अभ्यास सिकाउने र ब्यबसायिकरण गरे पश्चात ठूलो परियोजना संचालन गर्न आज लघुवित्तमा कारोवार गरिरहेको शेवाग्राही भोलि वाणिज्य बैंकमा गएर ठुलो कारोवार गर्न सकोस भने लघुबितको े चाहना र उदेश्य हो । हिजो लघुवित्तमा कारोवार गरिरहेको सेवाग्राही भोलि वाणिज्य बैंकमा गएर कारोवार गर्दछ भने यसलाई लघुवित्तले गरेको प्रगतिको रुपमा लिनुपर्छ । यसले त लघुवित्तका कारण वित्तीय चेतना बढेको र आर्थिक कारोबार बढाएको प्रमाणित गरिदिन्छ ।

लघुवित्तहरुको वर्गीकरणको प्रक्रिया पनि थालिएको छ । यसलाई कसरी लिनुभएको छ ?
अहिले संघियता कार्यान्वयनमा आइसकेको छ । सोही अनुसार प्रादेशिक र राष्ट्रिय स्तरको मान्यता पाउँने गरी सरकारले ल्याएको नीति राम्रो छ । हाल यसले गर्दा कतिपय पुरानो संस्थाहरुले राष्ट्रिय स्तरको बन्न सक्ने अवस्था नरहेको तर शाखा कार्यालयहरु अन्य प्रदेशमा पनि सञ्चालनमा रहेको अवस्थामा केही जटिलता देखिएको छ । प्रादेशिक स्तरमै बसेर काम गर्दा अन्य प्रदेशका शाखाहरु बिक्री गर्नुपर्ने अवस्था छ । शाखा खरिद बिक्रीमा संस्थाहरुमा झन्झटीलो र अन्यौलता भएकोे देखिन्छ । यसमा सहजता प्रदान गर्नुपर्ने अवस्था छ । विक्री हुन नसक्ने अवस्था भएमा बिकल्पको रुपमा दुई तहको बर्गीकरणको सट्टामा तीन तहको बर्गीकरणमा एउटा बहुप्रादेशिक थपेर पनि समाधानको उपाय निकाल्न सकिन्छ की जस्तो लाग्छ ।

तर अहिले लघुवित्तहरुलाई पनि मर्जरमा लैजाने र व्यवस्थित तरिकाले व्यवसाय गर्न बाटो तय गर्ने भन्ने पनि छ । लघुवित्तहरु मर्जरमा जानका लागि देखिएका समस्याहरु के के छन ?
लघुवित्तको संख्यात्मक बृद्धिले अस्वस्थ प्रतिष्पर्धा र कर्जाको दोहोरोपनालाई बढावा दिएकोे छ । यसले भबिष्यमा पार्न सक्ने नकारात्मक असरलाई मध्यनजर गरेर लघुवित्तहरुलाई मर्जरमा जानकोलागी गत बर्षको मौद्रिक नीति मार्फत नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरिसकेको अवस्था छ । तर यसको पूर्ण रुपमा पूँजीको रुपरेखा जस्तै राष्ट्रिय र प्रादेशिक स्तरको न्युनतम पूँजी र तोकिएको पूँजी कहिले सम्म पुर्याउने भने प्रष्ट खाका आइसकेको अवस्था छैन । अर्कोतर्फ कतिपय नयाँ संस्थाहरु पनि लाईसेन्स लिने क्रममै रहेका छन् । नयाँ संस्थाहरु जसले भर्खरै लाईसेन्स प्राप्त गरेको वा गर्ने क्रममा छन, तिनीहरुलाई पनि काम गर्न केही समय चाहिन्छ होला । स्वस्फुर्त स्वभाविक मर्जरले दिने प्रतिफल र फोर्सफुल मर्जरले दिने प्रतिफलमा फरक हुन्छ । यस्ता पक्षहरुलाई बिचार पुर्याएर मर्जर र एक्विजिसनको उपयुक्त नीति आउन जरुरी छ ।

नेपाल राष्ट्र बैंकले माईक्रोफाईनान्सहरुलाई पनि बैदेशिक ऋण लिन पाउने बाटो खुल्ला गरिदिएको छ । यसलाई कसरी लिनुभएको छ ?
हरेक आर्थिक बर्षको दोस्रो चौमासिकको अन्त्यतिर अधिकांस वाणिज्य बैंकहरुको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ८० प्रतिशत नाघिसकेको हुन्छ । यस्तो अबस्थामा राष्ट्र बैंकले ल्याएको बैदेशिक ऋण लिन पाँने सुविधाको प्रयोग माईक्रोफाईनान्सहरुले गर्न सक्नुपर्छ । तर अहिले सबै माईक्रोफाईनान्सहरुले त्यो पँहुच राख्छन जस्तो लाग्दैन । बिषय राम्रो भएपनि सबैले उपभोग गर्नसक्ने वातावरणको सर्जना नहुँदासम्म यसले खासै अर्थ राख्दैन । नेपालमा बैदेशिक मुद्रा विनिमय दर स्थिर छैन, ऋण लिने प्रक्रिया लामो र झन्झटिलो छ । यसले गर्दा स्वदेशी ऋण भन्दा बैदेशिक ऋणको ब्याज महङ्गो पर्न सक्छ । त्यसले स्थिर विनिमय दर कायम गर्ने तर्फ राष्ट्र बैंकको ध्यान जानु पर्छ । बैदेशिक ऋण भन्दा नेपालमै कुनै कोषको सृजना गरेर माईक्रोफाईनान्सले प्रयोग गर्न पाउने व्यबस्था गर्न सके उत्तम हुने थियो ।

पछिल्लो समय स्थानीय स्तरका जनताले सहकारी संस्था, लघुवित्त भन्दा बढी बैंकहरुको विश्वास गरेको देखिन्छ । के तपाईहरुले विश्वास गर्ने आधार स्तम्भ निमार्ण गर्न नसक्नुभएको हो ?
विश्वास दिलाउन नसकेको जस्तो त मलाई लाग्दैन । ३० लाख भन्दा बढी सेवाग्राही अहिले पनि लघुवित्तको कारोबारमा छन् । वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनी भन्दा माईक्रोफाईनान्स कम्पनीको कामको प्रकृति फरक भएकाले पनि जनताले विस्वास गरेनन् भन्न मिल्दैन । लघुवित्त संस्थाहरुमा सदस्यहरुबाट मात्रै लगभग ५५ अर्ब बराबरको बचत आएको छ । लघुवित्त सेवाको माग दिनदिनै बढदै भएको छ । बरु जसलाई माईक्रोफाईनान्सको आवश्यक्ता खड्कियो उसैले व्यवसाय विस्तार गर्नेक्रममा कारबार गर्दा यसको भन्दा बैंकहरुको मोह बढेको हुनसक्छ । वित्तीय साक्षरताको ज्ञानको कमि भएकाले पनि त्यस्तो लागेको हुनसक्छ ।

अन्त्यमा तपाइको संस्थाले वित्तीय साक्षरतालाई कसरी अगाडी बढाइरहेको छ । भावि योजनाहरु के के छन् ?
पछिल्लो समय माईक्रोफाईनान्सहरु दायित्व र जिम्मेवारीमा केन्द्रीत भईरहेका छन् । एउटा सामान्य मानिसलाई व्यवसायिक बनाउन निकै ठूलो मेहनत गर्नुपर्छ । त्यसको लागि विभिन्न व्यवसायिक तालिमहरुको आयोजना गर्ने, विभिन्न प्राविधिक विषयको ज्ञान दिने, बजारसम्म जाने उचित वातावरणको सृजना, वित्तीय साक्षरताका कार्यक्रमहरुलाई प्रथामिकताका साथ जनताको स्तरमा पु¥याउनुपर्ने देखिन्छ । तर सिप बिकास तालिम र बित्तीय साक्षरताले मात्र पुग्दैन त्यसको साथै समय समयमा प्राविधिक सहयोग, बजारको सुनिसचितता, उच्च कोटिका बिउबिजन र कच्चा पदार्थसँगको पहूच पनि त्यतिकै आवश्यक्ता छ । त्यसकोलागी सबै सम्वन्धित पक्षहरुको समनव्य हुन पनि जरुरी छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]