March 12th, 2019

स्पर्श लघुवित्तको आइपिओमा १८ गुणा बढी आवेदन

बैंकिङ खबर । लगानीयोग्य रकमको अभाव हुँदा लामो समयदेखि शेयर बजारमा कारोबार न्यून हुँदै आएको थियो । तर केहीदिन यता दोस्रो बजारमा कारोबार बढेको छ । त्यस्तै प्राथमिक बजारमा पनि शेयर लगानी कम गरिरहेका लगानीकर्ताले स्पर्श लघुवित्तको शेयरमा भने अत्याधिक आवेदन दिएका छन् । आइतबारदेखि सर्वसाधारण्का लागि प्राथमिक शेयर निष्काशन गरेको लघुवित्तले दोस्रो दिन सम्म माग भन्दा १८ गुणा भन्दा बढी रकमको आवेदन परेको जनाएको छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार सोमबारसम्म १ लाख ७१ हजार भन्दा बढी आवेदकले ४६ लाख ६२ हजार ७०० कित्ताको लागि आवेदन दिएका छन् । लघुवित्तले कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । यो आधारमा लघुवित्तको शेयरमा साढे १८ गुणा बढी शेयर आवेदन परेको हो। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ हजार ३ सय ४० कित्तासम्म शेयर आवेदन दिनसक्ने छन् । विक्री प्रवन्धकका अनुसार अहिलेसम्म आवेदन दिने लगानीकर्ताको संख्याको आधारमा १० कित्ता आवेदन दिने लगानीकर्ताको संख्या अत्याधिक रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]