उद्योगी र बैकर्सबीच सहमति, लचिलो बन्दै बैकर्स संघ

बैंकिङ खबर । ब्याजदर र सेवा शुल्कका विषयमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैकर्स एशोसिएसनबीच छलफल भएको छ । सोमबार भएको छलफलमा महासंघले राखेका मागप्रति बैकर्स एशोसिएसन लचिलो बनेको बताईएको छ । चर्को ब्याजदर निर्धारण गरेको भन्दै पूर्वका व्यवसायीले सुरु गरेको आन्दोलनलाई महासंघले समेत समर्थन जनाएपछि बैकर र उद्योगीबीच असमझदारी बढेको थियो ।

दुबै पक्षबीच सोमबार भएको छलफलमा उद्योगीले राखेका मुद्दा संबोधन गर्न बैकर्स तयार देखिएका स्रोतले बतायो । स्रोतका अनुसार स्प्रेडदर ४ प्रतिशत भन्दा माथि राख्न नहुने, ऋणका लागि पेश गर्नुपर्ने कागजात एकैखाले हुनुपर्ने र सेवा शुल्कमा समेत एकरुपता ल्याईनुपर्ने माग उद्योगीको थियो । अहिले ऋण लिन जाँदा २८ वटै वाणिज्य बैंकका फरकरफरक प्रस्तावसहितको डकुमेन्ट चाहिने भन्दै ऋण लिन कठिन हुने गरेको उद्योगीको जिकिर छ ।

सेवा शुल्क एकरुपताका लागि राष्ट्र बैंक, एफएनसीसीआई र बैकर्स एशोसिएसनको त्रिपक्षीय कमिटी बनाएर समस्या हल गर्ने सहमति भएको छ । उद्योगी र बैकर्सबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको र महासंघमा भएको छलफलले राम्रो नतिजा ल्याउने महासंघ कार्यसमिति एक सदस्यले बताए । छलफलमा महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षद्वय चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ तथा अञ्जन श्रेष्ठ लगायतको सहभागिता थियो । यता एशोसिएसनबाट अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *