Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

स्वास्थ्य बीमाका लागि सिरहामा बीमितको नाम दर्ता शुरु

२०७५ फाल्गुन २४ गते

लहान । स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो ।

स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्य बीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्ता मार्फत प्रचार प्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो ।

स्थानीय तहका सम्पूर्ण वडामा एक ,एक सहजकर्ता परिचालन गरी बीमाको महत्व, यसको प्रक्रिया र बीमा कार्यक्रमबाट प्राप्त हुने सुविधाका बारेमा प्रचारप्रसार गर्नुको साथै बीमा गराउनेको नामसमेत दर्ता गर्ने कार्य भइरहेको स्वास्थ्य बीमा बोर्ड लहान शाखाका बीमा अधिकारी भोगेन्द्र साहले जानकारी दिए ।

सहजकर्ता मार्फत दर्ता भएको बीमितको नामलाई चैतबाट कम्प्युटरमा दर्ता गरिने र अहिले नाम दर्ता गराएका बीमितलाई आउँदो जेठबाट बीमा सेवा उपलब्ध गराइने बीमा अधिकारी साहले बताए ।

पाँच जनाको परिवारले वार्षिकरूपमा प्रतिपरिवारले दुई हजार ५ सय को प्रिमियम तिरे स्वास्थ्य उपचारवापत वार्षिक ५० हजारको स्वास्थ्यबीमा पाइने व्यवस्था छ । पाँचभन्दा बढी सदस्य भएमा प्रतिसदस्यले वार्षिक ४ सय २५ का दरले थप प्रमियम तिर्नुपर्ने र सुविधा थैलीमा १० हजार थपिने जनाएको छ । रासस