
बैंकिङ खबर । कर्जा अवधिभर ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदरको व्यवस्था गर्न उद्योगी व्यवसायीले माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर स्थिर नहुदा लागत बढ्ने र व्यवयास सञ्चालनमा अप्ठ्यारो परेको भन्दै उनीहरूले स्थिर ब्याजदरको माग गरेका हुन् । बिहीबार उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाललाई भेटेर यस्तो आग्रह गरेका हुन् ।
गभर्नर नेपालसंगको भेटमा बैंक तथा वित्तीय संस्थाले बेस रेटमा अधिकतम चार प्रतिशतसम्म प्रिमियम मात्र थप गरी ब्याजदर लिनुपर्ने र कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्थाको माग माग टोलीले गरेको हो । पुनर्कर्जा कोषको सीमा बढाएर १ खर्ब बनाउनुपर्ने, पुनर्कर्जा नवीकरणको सीमा बढाएर पाँचरपाँच वर्ष र्पुयाउनुपर्ने, अनिवार्य नगद अनुपात (सीआरआर) मा बैंकहरूलाई ब्याज दिनुपर्ने लगायत माग पनि उद्योगी व्यवसायीले गरेका छन् । ‘नाफामूलक संस्थागत बचतकर्ताले निक्षेपमा पाउने ब्याजदर न्यूनतम बचतकर्ताको ब्याजदरभन्दा बढी नहुने गरी कायम गरिनुपर्ने,’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप गर्दा स्रोत खोजिने प्रावधानकै कारण बचत संकलन हुन नसकेको महासंघको ठहर छ । यसकारण महासंघले १० लाखभन्दा कम रकम बचत गर्दा लचिलो केवाईसी (ग्राहकको पूर्ण पहिचान) अपनाउन सुझाएको छ । ‘बैंकिङ सेवालाई सरल र सहज बनाउनका लागि १० लाखभन्दा कमको बचतमा केवाईसी फर्मलाई उदार गरिनुपर्ने,’ विज्ञप्तिमा उल्लेख छ ।
भेटमा ब्याजदर निणन्त्रण गर्ने सवालमा राष्ट्र बैंकले आन्तरिक रूपमा काम गरिरहेको बताएका छन् । ‘हालको समस्या समाधानका लागि परिणाम निस्कन समय लागे पनि नेपाल राष्ट्र बैंकलेकार्य गरिरहेको छ,’ गभर्नर नेपालले भने । गभर्नरसँगको भेटमा साना तथा मझौला उद्योग व्यवसायले सहज र सुपथ ब्याजदरमा कर्जा पाउनुपर्ने विषयमा पनि छलफल भएको व्यवसायीहरूले बताएका छन् ।