बैंकिङ खबर । सरकारी लगानी सहित केही प्रतिष्ठित वाणिज्य बैंक र अन्य कम्पनीको लगानीमा नेपाल पूर्वधार बैंकले बुधबारदेखि औपचारीक कारोबार सुरु गरेको छ । बैंकमा सरकारको १०%, केही प्रतिष्ठित बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, लघुवित्त कम्पनी, निजी कम्पनी र व्यक्तिगत लगानी समेत रहेको छ ।
बैंकको औपचारीक सुभारम्भ कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले समृद्ध मुलुक निमार्णका लागी दिर्घकालीन लगानीको आवश्यक्ता रहेको बताए । दिर्घकालीन लगानी प्रकृतिका पूर्वाधारले मात्रै समृद्ध मुलुक निमार्णको यात्रामा टेवा पु-याउने मन्त्री खतिवडाको विश्वास छ । “चाहे त्यो पर्यटन पूवाधार होस, जलविद्युत होस, शहरी विकास होस या अन्य कुनै नविकरणीय उर्जा नै किन नहोस ।” त्यस्तो प्रकारको लगानी गर्न सक्ने क्षमता पूर्वाधार बैंकले राख्न सकेमा मुलुकको समृद्धिको यात्रामा समेत टेवा पुग्ने मन्त्री खतिवडाले बताए ।
पछिल्लो समय ठूलो ऋण लगानी गर्न सक्ने बैंकहरुको कमी देखिएको र २० अर्ब जारी पुँजीबाट कारोबार सुरु गरेको बैंकले भविष्यमा ठूलो ऋण लगानी गर्न सक्ने क्षमता राख्ने विश्वास खतिवडाले गरे । तपाईहरु धेरै ठूलो पूँजी भएको बैंक हुनुहुन्छ, यसमा सरकार समेत सामेल छ, त्यसैले जिम्मेवारी धेरै छन् । यसर्थ बैदेशिक बजारबाट पूँजी परिचालन गर्नको निम्ति गर्नुपर्ने सरकारी सहयोग गर्न सरकार तयार छ, अर्थमन्त्री खतिवडाले भने ।
निजी क्षेत्रप्रतिको आक्रोस
पछिल्लो समय चर्चामा रहेको ब्याजदरको विषयबस्तुलाई पनि मन्त्री खतिवडाले छोटो तर निकै गहन तरिकाले उठान गरे । “बैंक र उद्योगी दुबै वाणिज्य क्षेत्रको छाता संगठन भएपछि ब्याजदरको विषयलाई छलफलको माध्यमबाट अन्त्य गरेर अगाडि बढ्नुपर्छ, एकअर्कामा पाखुरा सुर्कासुर्की गरेर होइन” अर्थमन्त्री खतिवडाले भने । बरु सरकारले हस्तक्षेप गर्नुपर्ने परिस्थीति आएमा सरकार तयार छ, उनले झगडा नगर्नुस, अतिवादमा नजानुस, समस्याको समाधान चाँडै निकालेर व्यवसाय मैत्री वातावरणको सृजना गर्न आग्रह गरे । त्यस्तो नभए सरकारले बाध्य भएर हस्तक्षेप गर्नुपर्ने परिस्थीतिको सृजना हुने उनले बताए ।