बैंकिङ खबर । पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२ औं वर्षमा प्रवेश गरेको छ । संस्थानको ५२ औं वर्ष प्रवेश गरेको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकुल सेवा प्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे ।
प्रतिष्पर्धी बन्दै गएका बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरु सामु संस्थानले आफुलाई उतार्नुपर्ने आवश्यकता औंल्याउँदै उनले समयसापेक्ष अपडेटेड हुँदै अगाडि बढ्न आग्रह समेत गरे । उपप्रधानमन्त्री पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफुलाई विकास गर्नुपर्नेमा पनि जोड दिए ।
नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले समयानुकुल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिष्पर्धामा उत्रन आग्रह गरे
साथै उनले अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले जोखिम व्यवस्थापन, वित्तीय पहुँच बृद्घि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्घारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिष्पर्धी कार्य प्रणालीको अबलम्बन गर्दै जीवन बीमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न उनले सुझाव दिए ।
बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्नेमा जोड दिंदै संस्थान प्रतिष्पर्धी बन्नुपर्ने, कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता बृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए ।
नयाँ नयाँ प्रविधिको वकास सँगसँगै जनसाधारणमा बीमाको आवश्यकता पनि भिन्न भिन्न हुँदै गइरहेको भन्दै उनले अनुसन्धानमुखी भई आवश्यकता अनुसारका बीमा लेखहरु सहित दक्ष जनशक्तिकोे माध्यमबाट ग्राहकहरुलाई सुरक्षण प्रदान गर्न संस्थानको ध्यानाकर्षण हुनुपर्ने बताए ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीले प्रतिष्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न संस्थाललाई आग्रह गरे। राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए । बीमा अभिकर्ताको भूमिकालाई पनि परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने भन्दै उनले आगामी दिनमा व्यक्तिगत नभई संस्थागत र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको जानकारी दिए । बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेतापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको र मुलुक संघीय संरचनामा पूर्ण रुपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोही बमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको उनले बताए ।
संस्थानका प्रशासक कवि प्रसाद पाठकले देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्दै विदेशी मुद्राको व्ययभार रोक्ने संस्थानको प्रमुख उद्देश्य रहेको बताए । संस्थानको अधिकृत पुँजी ५० करोड र चुक्तापुँजी१८ करोड १० लाख २० हजार रहेको जानकारी दिंदै उनले भने ‘हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब २ लाख ९८ हजार बीमित तथा रहेको छन भने यस बर्षबाट करीब ३ लाख राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा थप गरिएको छ । त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।’
यसै आर्थिक वर्षको प्रथम अर्धवार्षिकमा ४ अर्ब ४१ करोड बीमा शुल्क संकलन गरिएको छ भने १ अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको छ । २०७५ पौष मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रहेको बताउँदै प्रशासक पाठकले दीर्घकालीन परियोजनाहरुमा लगानी गर्ने प्रयास स्वरुप माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा २१ करोड १८ लाख शेयर पूँजी र २ अर्ब ऋण लगानी, जलविद्युत लगानी तथा विकाश कम्पनीमा १अर्ब शेयर लगानी र विद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको बताए ।
सोही अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने ३ जना अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको थियो ।
२०२४ साल पौष १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रा.) लि. स्थापना भई फागुन ११ गते देखि व्यावसायिक कारोबार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप २०२५ साल पौष १ गते संस्थानमा परिणत भएको संस्थान शनिबमार स्थापनाको ५१ औं वर्ष पारगरी ५२ औं वर्ष प्रवेश गरको छ ।
स्थापना कालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकार लगायत संस्थापक शेयरधनीहरुलाई आकर्षक लाभांश र सरकारलाई करको रूपमा समेत करिब ३५ करोड वार्षिक राजस्व बुझाउँदै आएको छ । देशमा बीमा भन्ने बित्तिकै राष्ट्रिय बीमा संस्थान सम्झने स्थितिको निर्माण तथा बीमालाई मेची देखि महाकालीका गाउँ÷गाउँ सम्म पु-याउने ऐतिहासिक अभिभारा बहन गर्दै आइरहेको छ ।




