June 1st, 2016

लघुवित्त बैँकको पुँजी वृद्धिसम्बन्धि बहस सुरु, व्याजदरको मापदण्डबारे के हुन्छ ? 

nrbनेपाल राष्ट्र बैँकले लघुवित्त विकास बैँकको पनि पुँजी वृद्धिको योजना ल्याउने भएको छ । बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको पुँजी बृद्धि गरेको नेपाल राष्ट्र बैंकले लघुवित्त विकास बैंकको पुँजी बृद्धिको प्रस्ताव बारे केही दिनमै सञ्चालक समितिमा छलफल गर्ने भएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको व्यवस्था अनुसार नेपाल राष्ट्र बैंकले लघुवित्त विकास बैंकको पुँजी बृद्धि गर्न लागेको बताइएको छ । लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागले पुँजी बृद्धिको खाका नियमन विभागलाई बुझाइसकेको छ । नियमन विभागले प्रस्तावलाई अन्तिम रुप दिइसकेको छ । 
 
अहिले, नयाँ आर्थिक बर्षको बजेट आएपछि अब धेरैको ध्यान नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतितर्फ तानिएको छ । यससँगै लघुवित्तको पुँजी वृद्धिका लागि राष्ट्र बैँकले तयारी थालेको कुराहरु आइरहेका छन् । यता, लघुवित्तको क्षेत्रमा राष्ट्र बैंकको भुमिका प्रभावकारी हुनुपर्ने तर्क गर्न थालिएको छ । लघुवित्त बैँकले सानासाना पुँजीलाई संकलन गर्ने भएकाले ग्रामीण तथा दुर्गम भेगमा वित्तीय पहुँच विस्तारका लागि यस्ता संस्थाले निकै सघाएका छन् । त्यसैले पनि लघुवित्तको नियमनमा राष्ट्र बैँकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जरुरी देखिन्छ ।
 
व्याजदरबारे स्पष्ट मापदण्डको माग
लघुवित्तहरुको चुक्ता पूँजी बृद्धिका साथै ऋणीहरुबाट लिईने ब्याज दरबारे पनि स्पष्ट मापदण्ड तोकिनुपर्ने पनि आबाज उठेको छ । केही लघुवित्तहरुले २७ प्रतिशतसम्म ब्याज असुलेको गुनासो आएपछि राष्ट्र बैंकले स्प्रेड दर तोकेर जानुपर्ने आवाज उठेको हो । आलोचकहरु यसरी राष्ट्र बैंकले ब्याज दर तोक्नु नीति विपरीत हुनेतर्क पनि आइरहेको छ ।

अहिले ४२ वटा लघुवित्त विकास बैंकहरु सञ्चालनमा छन् । ६० वटा संस्थाहरु राष्ट्र बैंकबाट सञ्चालन अनुमतिको पर्खाइमा छन् । तल्लो तहसम्मका जनतालाई बैंकिङ पहुँच विस्तार गर्दै गरिवी निवारण गर्न लघुवित्त संस्थाहरुलाई सञ्चालन अनुमति दिइँदै आएको छ । केही संस्थाहरुले दोहोरो कर्जा परिचालन गरेको, सस्थागत सुशासनमा गंभीर समस्या देखिएको, एउटै कार्य क्षेत्रमा धेरै संस्था थुप्रिएर दुर्गम तथा ग्रामिण तहमा जान आनाकानी गरेको र गरिबी निबारणको नाममा चर्को ब्याज असुलेर साहु महाजन जस्तो भएको गुनासो आईरहेको छ भने धेरै संस्थाहरु हुँदा नियमनमै समस्या देखिन थालेको छ ।

अहिले एकदेखि तीन जिल्ले लघुवित्तको चुक्ता पुँजी एक करोड तोकिएको छ । १० जिल्लेसम्मको दुई करोड र राष्ट्रियस्तरको लघुवित्तको १० करोड चुक्ता पुँजी तोकिएको छ । राष्ट्र बैंकले सुरुमा चार गुणासम्म लघुवित्तको पुँजी बढाउने योजना बनाए पनि यसलाई घटाएर दुई गुणासम्म मात्र बृद्धि गर्ने योजना बनाएको छ ।