बैंकिङ खबर। चालु आर्थिक वर्षमा वर्षे बालीहरुको लागि पर्याप्त वर्षा भएको, बाढी पहिरो, नदी कटान लगायत प्राकृतिक प्रकोप नभएको तथा कृषि क्षेत्रको उत्पादन, बजारीकरण, व्यावसायीकरण तथा आधुनिकीकरणका लागि नेपाल सरकारबाट अघि सारिएका कृषि विकास रणनीति, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायतका विभिन्न योजना तथा कार्यक्रमहरुको कार्यान्वयनबाट प्रमुख कृषि बालीहरुको उत्पादनमा विस्तार आउने अनुमान राष्ट्र बैंकले गरेको एक अध्ययनले गरेको छ । तर कृषि उत्पादनमा अपेक्षित उपलब्धि हासिल गर्नका लागि उन्नत बीउ–विजन तथा रासायनिक मलको सहज आपूर्ति, सिँचाइ सुविधाको विस्तार तथा उत्पादित वस्तुहरुको उचित बजारीकरणको व्यवस्था गर्ने चुनौती भने देखिएको छ ।
पछिल्लो समय उर्जा आपूर्तिमा आएको सुधार, कर्जा प्रवाहमा भएको उच्च विस्तार तथा लगानीयोग्य वातावरण निर्माणका लागि भइरहेका प्रयासहरुका कारण चालु आर्थिक वर्षमा औद्योगिक उत्पादनमा विस्तार आउने राष्ट्र बैंकले गरेको अध्ययनमा उल्लेख छ । औद्योगिक उत्पादनमा उच्च वृद्धि कायम राख्न निर्माणाधीन जलविद्युत परियोजनाहरु समयमै सम्पन्न गर्ने, आयात व्यवस्थापनका लागि उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, उद्योगी, व्यवसायी, किसान एवम्श्रमिकबीच दीगोरुपमा असल सम्बन्ध कायम गर्नेतथा औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन उपयुक्त वातावरण सृजना गर्नुपर्ने लगायतका चुनौतीहरु छन्।
त्यस्तै सरकारले पछिल्लो समय घोषणा गरेको नयाँ पर्यटकीय गन्तव्य, अन्तर्राष्ट्रिय विमानस्थलहरुको निर्माण तथा सुधार, थप जहाज खरिद, पर्यटक स्तरीय होटलहरुको संख्यामा भइरहेको वृद्धि तथा पर्यटकहरुको आकर्षण बढाउन नेपाल भ्रमण वर्ष २०२० घोषणा गरिनुले पर्यटकको वृद्धि हुने देखिन्छ । तर भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण तथा पर्यटकीय पूर्वाधारको विकास समयमै हुन नसक्नुले पर्यटन क्षेत्रबाट अपेक्षा गरिए अनुसार उपलब्धि हासिल गर्न भने चुनौती देखिन्छ ।
संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुले आर्थिक वर्ष २०७५/७६ को बजेट समयमै ल्याएका र सबै प्रदेश तथा स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा कृषि, पर्यटन, पूर्वाधार लगायत विकास निर्माणमा खर्च गर्ने भएकाले आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने देखिन्छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक गतिविधि अध्ययनको वार्षिक प्रतिवेदनबाट