अर्थमन्त्री डा. युवराज खतिवडाले चिनियाँ राजदूतसमक्ष नेपालमा चिनियाँ बैंकका शाखा विस्तार गर्न आग्रह गरेका छन् । हाल चिनियाँ बैंक नेपालमा नहुँदा भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न अप्ठ्यारो परेको भन्दै डा. खतिवडाले आइतवार अर्थ मन्त्रालयमा चिनियाँ राजदूत होउ यान्छीसँगको भेटमा सो आग्रह गरेका हुन् । राजदूत होउ यान्छीले यसबारे आवश्यक छलफल गर्न चीन सरकार तयार रहेको बताइन् ।
भेटमा अर्थमन्त्री डा. खतिवडाले दुई देशबीच हुने अनौपचारिक व्यापारलाई औपचारिक रूपमा रूपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । दुवै देशका आपसी पारस्परिक व्यापारिक सम्झौतालाई समयसापेक्ष परिमार्जन र सुधार्न आवश्यक भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको समयमा भएका सम्झौता अघि बढाउने विषयमा समेत चिनियाँ राजदूतको ध्यानाकर्षण गराए ।
सो क्रममा राजदूत यान्छीले चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनका अनुसार सम्मेलनमा धेरैभन्दा धेरै चिनियाँ लगानीकर्तालाई सहभागी गराउन आवश्यक सहयोग गर्न चीन सरकार प्रतिबद्ध छ । आर्थिक अभियानमा प्रकाशित समाचार ।