बैंकिङ खबर। हाल राष्ट्रिय स्तरका ११ वटा विकास बैंकहरु सञ्चालनमा रहेका छन् । ११ वटा विकास बैंक मध्ये ९ वटा बैंकले चालु आर्थिक बर्षको पुष मसान्त सम्मको वित्तीय विवरण प्रकाशित गरेका छन् । महालक्ष्मी विकास बैंक र गण्डकी विकास बैंक बाहेक वित्तीय विवरण प्रकाशित गरेका ९ वटा विकास बैंकले ६ महिनाको अवधिमा २ अर्ब ६ करोड रुपैयाँ मुनाफा कमाएका छन् । सबैभन्दा धेरै मुनाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ भने सबैभन्दा कम मुनाफा देवः विकास बैंकले कमाएको छ । पुष मसान्त सम्ममा विवरण प्रकाशित गरेका बैंकहरुले २ खर्ब १५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९१ अर्ब ६२ करोड रुपैयाँ भन्दा बढि कर्जा लगानी गरेका छन् ।
धेरै नाफा कमाउने ३ विकास बैंक, मुक्तिनाथको सबैभन्दा बढी
‘जनता बैंकमा हैन, बैक जनतामा जानुपर्छ’ भन्ने नारा बोकेर आगाडी बढेको मुक्तिनाथ विकास बैंक धरै नाफा कमाउने बैंकको पहिलो स्थानमा रहेको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा ४० करोड ४८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । त्यस्तै धेरै मुनाफा आर्जन गर्ने विकास बैंकहरुको दोस्रो स्थानमा रहेको गरिमा विकास बैंकले २७ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । कुनै समयमा सबैभन्दा राम्रो र मजबुत विकास बैंकको रुपमा रहेको कैलाश विकास बैंकलाई मुनाफा आर्जनमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंकले पछाडी पार्दै तेस्रो स्थानमा पुर्याएका छन् । कैलाश विकास बैंकले उक्त अवधिमा २७ करोड ४६ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
अन्यको नाफा कति ?
ओम डेभलपमेन्ट बैंकले २४ करोड २ लाख रुपैयाँ, लुम्बीनी विकास बैंकले २३ करोड ४६ लाख रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकले १८ करोड ६९ लाख रुपैयाँ, ज्योति विकास बैंकले १७ करोड ४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकले १३ करोड ८२ लाख रुपैयाँ, र देवः विकास बैंकले १३ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् ।