
बैंकिङ खबर। केवाइसिका कारण बैंक र ग्राहक दुवैलाई सकस भइरहेको बैंकर्स संघ र विकास बैंकर्स संघका अध्यक्षहरुले बताएका छन् । एनबिआइले आयोजना गरेको बैंक तथा वित्तीय संस्थामा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धि चौथो सम्मेलनमा बोल्दै बैंकरहरुले केवाइसिका कारण सम्पत्ति शुद्धीकरणमा खासै सहयोग नपुगेको बताएका हुन् ।
गभर्नर डा. चिरंजीवि नेपालले पनि बैंक तथा वित्तीय संस्थामा लागु गरिएको केवाइसिले काम नगरेको स्वीकार गरेका छन् । गभर्नर नेपालले नियमन, सुपरभिजन, आन्तरिक व्यवस्थापन र लेखा परिक्षणका कारण शुद्धीकरणमा सहयोग पु-याएको बताएका छन् ।
नेपालले प्रविधिको प्रयोगसँगै सम्पत्ति शुद्धीकरणको जोखिम बढ्दै गएको उल्लेख गर्दै पछिल्लो समय शंकास्पद कारोबार बढन सक्ने खतरा रहेको बताए ।
बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले केवाइसिका कारण बैंकमा आउने उपभोक्ताले दुख पाइरहेको बताए । उनले हरेक वर्ष एउटै विवरण भराइराख्न उपयुक्त नहुने बताए । उनले सम्पत्ति शुद्धीकरण प्रमाणपत्रको आवस्यकता परिसकेको उल्लेख गरे ।
डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष गोविन्द ढकालले पनि केवाइसिका कारण नयाँ तथा साना ग्राहकलाई समस्या परेको बताए ।
एनबिआइका अध्यक्ष तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले भने सम्पत्ति शुद्धीकरणको बिषय जटिल भए पनि कार्यान्वयनमा कुनै समस्या नभएको बताए ।