Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

ओलीले बाँडे ५ महिनामा ६ करोड

२०७५ माघ १८ गते

सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहायतासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्यढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ। उपचारखर्चलगायत नाममा यो रकम बाँडिएको हो। आर्थिक सहायता पाउनेमा पहुँचवाला र सम्पन्न पनि छन्।

अर्थ मन्त्रालयका अनुसार सरकारले हरेक महिनामा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराएर विभिन्न व्यक्तिलाई आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। मंसिरमा मात्र सरकारले १ करोड २७ लाख रुपैयाँ यसरी उपलब्ध गराएको पाइएको छ। मंसिरयताको आर्थिक सहयातासम्बन्धी विवरण भने सरकारले सार्वजनिक गरेको छैन।

अर्थ मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको विवरणअनुसार मंसिर ३ मा बसेको मन्त्रिपरिषद् बैठकले ४२ जनालाई ३१ लाख रुपैयाँ र त्यसको एक सातापछि १० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न व्यक्तिलाई २८ लाख रुपैयाँ आर्थिक सहयाता उपलब्ध गराउने निर्णय गरेको थियो। मंसिरमा मात्र सरकारले करिब १ करोड २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थले जनाएको छ।

मंसिरमा सरकारले गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको उपचार खर्चका लागि गृहमन्त्रालयका नाममा ७ लाख १९ हजार ७ सय ४९ रुपैयाँ उपलब्ध गराएको छ। यसैगरी सरकारले मंसिरमै पूर्वसांसद टुकराज सिग्देल ९तनहुँ० लाई १० लाख, झापा बिर्तामोडका राजेन्द्रकुमार बिमलीलाई १६ लाख, प्रधानमन्त्री कार्यालयका नायबसुब्बा लक्ष्मीबहादुर रोकयालाई ३ लाख, कपिलवस्तु घटनामा मृत्यु भएका दीपेन्द्र चौधरीको परिवारलाई १० लाख आर्थिक सहयाता उपलब्ध गराएको छ।

मंसिरमै सरकारले कपिलवस्तु बुद्धभूमिका मुमाराम आचार्यलाई १० लाख, झापा कन्काइ घैलाडुब्बाका मध्मा वलीलाई ३ लाख, झापा सुरूंगाका चानक उप्रेतीलाई ५ लाख, सुनसरी दुहबीका फिदा हुसेनको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ। हुसेनको हत्या भएको थियो। त्यस्तै मंसिरमै सामान्य प्रशासन मन्त्रालयका लेखापाल विना पौडेललाई उपचार गर्न ५लाख र दैलेखमा कार्यरत नासु गणेशमान सिंह र जयन्ती सिंहलाई उपचार गर्न ५ लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो।

कात्तिकमा पनि सरकारले विभिन्न व्यक्तिलाई आर्थिक सहायता वितरण गरेको छ। मंसिरमा सरकारले सिँचाइ विभगका इञ्जिनियर पुरुषोत्तम खरेललाई उपचारका लागि ५ लाख, वीरगञ्ज भन्सार कार्यालयका नायबसुब्बा सञ्जिवकुमार सिंहलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ। विभिन्न व्यक्तिलाई गरी कात्तिकमा सरकारले राज्यकोषबाट १ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थले जनाएको छ।

यसैगरी सरकारले असोजमा विभिन्न व्यक्तिलाई करिब १ करोड २० लाख रुपैयाँ आर्थिक सहयायताका नाममा दिएको छ। असोजमा यसरी सहायता पाउनेमा पूर्वमन्त्री पूर्णकुमार लिम्बु (१० लाख), नर्वदा शिवाकोटी (१० लाख), वीरबहादुर थापा (१० लाख), सीता तामाङ (५ लाख), जीवनाथ आचार्य (३ लाख), सूर्यकुमार खड्का (३ लाख रुपैयाँ) लगायत छन्। नागरिक दैनिकमा प्रकाशित समाचार।

Ad