बिमा समितीले सबै व्यक्तिलाई बिमाको दायरामा ल्याउन लघुबिमा योजना ल्याएको छ । बिमाा समितीले आर्थिक रुपमा पिछडिएका व्यक्तिलाई लक्षित गरी लघुबिमा योजना सार्वजनिक गरेपछि न्यून आय भएका व्यक्तिले पनि बिमा योजना खरिद गर्न पाउने भएका छन् । समितिले योजनाहरूको रूपरेखा तयार पारी लक्षित समूहमा योजना जारी गर्नसमेत बिमा कम्पनीहरूलाई निर्देशन दिइसकेको बताइएको छ । बिमाशूल्क न्यून भएकै कारण लघुबिमाले धेरै सर्वसाधारणलाई समेट्न सक्ने अपेक्षा गरिएको छ ।
यस्ता छन् कार्यक्रमहरु
लघु निर्जीवन बिमाअन्तर्गत स्वास्थ्य लघुबिमालेख रहेको छ । लघुबिमा निर्देशिका २०७१ अनुसार स्वास्थ्य लघुबिमा योजनाको बिमा शुल्क १ हजार ४ सय रुपैयाँ छ । यो रकम बिमांक रकमको ४ प्रतिशत हो । यस योजना खरिद गरेबापत्त एक परिवारका ५ जना सदस्यले ३५ हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, लघु निर्जीर्वन अन्तर्गत नै अर्को बिमा रहेको छ : गार्हस्थ्य लघुबिमालेख । जसअनुसार, ५ सय रुपैयाँमा गार्हस्थ्य लघुबिमा योजना खरिद गर्न सकिनेछ । यो रकम बिमांक रकमको ०.२५ प्रतिशत हो । यस योजनाको बिमांक रकम २ लाखसम्म हुनेछ । यस योजनाले बिमितको सम्पत्तिको जोखिम बहन गर्छ ।
दुर्घटना बिमालेख पनि लघु निर्जीवन बिमा अन्तर्गत सञ्चालनमा ल्याइएको छ । निर्देशिका अनुसार, १ सय ५० रुपैयाँमा दुर्घटना लघुबिमा योजना खरिद गर्न सकिनेछ । यस योजनाको बिमांक रकम भने १ लाख ५० हजार रुपैयाँ छ । बिमितले बिमांक रकमको ०.१ प्रतिशत बिमा शुल्क भुक्तानी गर्नुपर्नेछ ।
लघु जीवन बिमाअन्तर्गत सावधिक लघु जीवन बिमालेख र म्यादी लघु बिमालेख सञ्चालनमा ल्याइएको छ । लघुजीवन योजनाको बिमाशुल्क भने तय भई सकेको छैन ।