प्रधानमन्त्री केपी ओलीले आर्थिक विकासका दृष्टिले नेपाललाई पर्खने सुविधा नरहेको बताएका छन् । स्विट्जरल्यान्डको डाभोसमा मंगलबार सुरु विश्व आर्थिक मञ्चमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘दक्षिण एसियामा रणनीतिक दृष्टिकोण’ शीर्षकको सेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकको सबै पक्षलाई तीव्र रूपमा विकास गर्नुपर्नेछ ।
चीन, भारत, बंगलादेशलगायत सबै मुलुकसँग हामी नयाँ सम्झौता गरिरहेका छौँ र नयाँ स्तरको सम्बन्ध बनाएर अघि बढिरहेका छौँ ।’ आन्तरिक रूपमा हामी तीव्र आर्थिक वृद्धि हासिल गर्न, जनतालाई सेवा दिन र भ्रष्टाचार नियन्त्रण गर्न नीतिगत सुधारको काम गरिरहेको पनि उनले बताए । सरकारले आफ्नो सम्पूर्ण ध्यान जनताको जीवनस्तर उकास्नलाई दिएको पनि उनले बताए । ‘त्यस्तै वातावरण संरक्षणमा दिएका छौँ । त्यसो हुँदा हाम्रो विकासका गतिविधि, जनकेन्द्रित, प्रकृतिकेन्द्रित छ । हाम्रो विकास–नीति सन्तुलनमा छ,’ उनले भने । नयाँ पत्रिकामा प्रकाशित समाचार।