Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

के हो टयाक्स हेवन ?

२०७५ माघ ३ गते

‘टयाक्स हेवन’ मानिने १७ वटा मुलुकबाट ६६ अर्ब ९० करोड १८ लाख ४३ हजार २८४ रूपैयाँ बराबर लगानी गर्ने अनुमति नेपाल सरकारले दिएको छ । यी मुलुकबाट भित्रिएको वास्तविक लगानी रकम ८२ अर्ब ६५ करोड ७० लाख रूपैयाँ पुग्छ, जुन अनुमति दिएभन्दा १५ अर्ब ७५ करोड ५१ लाख ५६ हजार ७१६ रूपैयाँले बढी हो । अनुमति दिएभन्दा बढी रकम कसले भित्र्यायो ? यो सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको विषय हो ।

सम्पत्तिको स्रोत नखोजिने र कर छल्नका लागि सुरक्षित मानिने ‘टयाक्स हेवन’ मुलुकबाट नेपालका दर्जनभन्दा बढी व्यावसायिक ग्रुपमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिएको खुलासा भएको छ ।

के हो टयाक्स हेवन ?

‘हामफुल टयाक्स रेजिम’ अर्थात् हानिकारक कर पद्धति भएका मुलुकलाई ‘टयाक्स हेवन’ भनिन्छ । बेलायती चर्चित पत्रिका ‘दी गार्डियन’ ले सन् २०११ मा प्रकाशित गरेको एक आलेखअनुसार ‘टयाक्स हेवन’ भनेको करको नियन्त्रणबाट मुक्त हुन खोज्नु मात्रै हैन, कम्पनीहरूको सूचना गोप्य राख्नु, सूचना आदानप्रदान नगर्नु वा गर्न नसघाउनु पनि हो । त्यस्ता ठाउँहरू ‘सिक्रेसी जुरिडिक्सन’ अर्थात् गोप्य अधिकार क्षेत्र हुन् । गार्डियनका अनुसार धेरै कम वा शून्य कर लाग्नु टयाक्स हेवनको अर्को अर्थ हो जसले मानिसहरूलाई कर छल्न आकर्षित गर्छ ।

मुलुक बाहिर अफसोर कम्पनी दर्ता गरी करबाट उम्कने सबैभन्दा सजिलो तरिका ‘टयाक्स हेवन’ को लगानी हो । ‘गाडी पार्किङ गरेझैं गैर आवासीयका लागि पैसा पार्किङ गर्ने ठाउँ टयाक्स हेवन हो,’आलेखमा गार्डियन भन्छ ।

यस्तो मुलुकमा कर छुट वा शून्य करको व्यवस्था हुन्छ । ‘आर्थिक लाभबाट अभिप्रेरित आपराधिक कार्यमा संलग्न व्यापारीहरूको सञ्जालले ‘टयाक्स हेवन’ मुलुकको स्थानीय राजनीतिलाई नियन्त्रणमा लिएर अर्थपूर्ण कानुनी व्यवस्था लागू गर्न अवरोध गर्छ,’ गार्डियनले भनेको छ, ‘यस्तो खालको राजनीतिक कब्जाले अति स्वतन्त्र भनिएका मुलुक र ठाउँहरू अफसोर लगानीका कारण निकै आलोचित र विवादित हुने गरेका छन् ।’ त्यसैको एउटा उदाहरण हो विश्वभर विवादित बनेको ‘टयाक्स हेवन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्ड्स ।

यस्ता मुलुकमा सेल अर्थात् नाम मात्रका कम्पनी खडा गरी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रवृत्ति बढदो छ । यस्ता कम्पनीको कर्पोरेट कार्यालय अर्थात् भौतिक उपस्थिति हुँदैन । आफ्नै छुट्टै मौलिक व्यापार व्यवसाय पनि हुँदैन । सम्पत्ति, कर्मचारी तथा दायित्व समेत हुँदैन । कानुनी प्रक्रिया पूरा गरी वैधानिकता प्राप्त गर्न यस्ता कम्पनी ‘टयाक्स हेवन’ देशको कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरिएका हुन्छन् ।

कर छलेर कमाएको सम्पत्ति व्यवस्थापन गर्न वा कर छल्ने अर्काे काम गर्न यस्ता कम्पनी खोलिन्छन् । आतंकवादी क्रियाकलाप, मानव बेचबिखन, भ्रष्टाचार, अकुत आर्जन वा कर छल्नेले पनि अपारदर्शी कारोबार गर्न ‘टयाक्स हेवन’ मुलुकमा यस्तो कम्पनी दर्ता गर्छन् । यस्ता कम्पनी खोल्न दिने कामका लागि वेस्ट इन्डिज, ब्रिटिस भर्जिन आइल्यान्ड्स, साइप्रस, पनामालगायत दर्जन भन्दा बढी मुलुक विश्वभर चर्चित छन् । कान्तिपुर दैनिकमा प्रकाशित समाचार ।

Ad