December 21st, 2018

फाइनान्सहरुबीच व्याजदर घटाउने सहमति, १०.२५% भन्दा माथि नजाने

बैंकिङ खबर । फाइनान्स कम्पनीहरुले व्याजदर घटाउने सहमति गरेका छन् । शुक्रबार बसेको वित्त कम्पनी संघको बैठकले परिवर्तित अवस्था अनुसार घटाएर व्याजदर कायम गर्ने निर्णय गरेको हो । जसअनुसार, अब फाइनान्सहरुले व्यक्तिगत मुद्धति निक्षेपमा अधिकतम १०.२५ प्रतिशतसम्म व्याज दिनेछन् । साधारण बचतमा भने यस अघिको अनुसार नै हुनेछ । संघले व्याजदर भुक्तानी त्रैमासिक रुपमा मात्र गर्ने सहमति पनि गरेको छ ।

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारीहरुलाई बोलाएर राष्ट्र बैंकले व्याजदर घटाउन निर्देशन दिए पछि पहिलो पटक वाणिज्य बैंकहरुले व्याजदरका विषयमा अनौपचारिक सहमति गरेका थिए । त्यसपछि वित्त कम्पनी संघले व्याजदर घटाउने सहमति जुटाएको हो ।