बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेको छ । बोर्डले विगत केही दिनदेखि लगानीकर्ताहरुले पुँजी बजारसम्बन्धी राखेका मागहरु तथा दोस्रो बजार कारोबार रोक्नेसम्बन्धी भएका आवाञ्छित स्थिती सम्बन्धमा ध्यानाकर्षण भएको भन्दै मंगलबार एक प्रेस विज्ञप्ति जारी गरेको छ ।
पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्तिहरुको (व्याजदर, सेयर बजार, ऋणपत्र) समग्र मूल्यांकन गरी वित्तीय स्थायीत्व एवम् लगानीका लागि वित्तीय स्रोत व्यवस्थापनमा देखिएका समस्याहरु पहिचान गरी सुझाव पेश गर्न धितोपत्र बोर्डका प्रतिनिधिका साथमा लगानीकर्ताको समेत प्रतिनिधित्व रहने गरी नेपाल सरकारद्धारा गठित उच्चस्तरीय समिति छिटै प्रतिवेदन पुर्याउने क्रममा रहेको बोर्डले जानकारी दिएको छ ।
उक्त समितिले विभिन्न सरोकारवालासँग छलफल गरी दिइने सुझावहरुको कार्यान्वयनबाट बजारमा थप विकास एवम् स्थायित्व अभिवृद्धि हुने तथा लगानीकर्ताहरुका माग समेत सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै बोर्डले दोस्रो बजार कारोबार सुसंचालनमा संयमता कायम गर्न सम्बन्धित लगानीकर्ताका साथै सबै पक्षहरुसँग अनुरोध गरेको छ ।
