December 18th, 2018

नेपाल इन्भेष्टमेन्ट बैंक पनि मर्जरका लागि बाटो खुला गर्दै

बैंकिङ खबर । नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर तथा प्राप्तीका लागि बाटो खुला गर्ने भएको छ । बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्राप्तीको बाटो खुला गर्ने प्रस्ताव सहित साधारणसभा डाकेको छ । साधारणसभाको विशेष प्रस्तावमा बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने वा आफैँ एक आपमा गाभिने प्रयोजनका लागि संस्था छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका आवश्यक सम्पूर्ण प्रकृयाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने उल्लेख गरेको छ । 

बैंकको ३२औँ साधारणसभा पुस २९ गते हुँदैछ । यो साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १८ प्रतिशत बोनस तथा २२ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश प्रस्तावलाई अनुमोदन गर्नेछ ।

बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत सेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा लग्दैछ । 

साधारण सभा प्रयोजनका लागि बैंकले पुस ११ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार १० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र बार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ ।