December 17th, 2018

पाँच महिनामा संघीय सरकारको पुँजीगत खर्च १२.४६ प्रतिशत मात्रै

बैंकिङ खबर । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा संघीय सरकारले ३९ अर्ब ११ करोड सात लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि ३ खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेकोमा १२.४६ प्रतिशत मात्रै खर्च भएको हो । सरकारी खर्च प्रणालीमा सुधार नहुँदा पुँजीगत बजेट कार्यान्वयनको अवस्था कमजोर देखिएको हो ।

मंसिर मसान्तसम्ममा दुई खर्ब ४८ अर्ब रुपैयाँ चालु खर्च भएको छ । जुन कूल विनियोजित खर्च आठ खर्ब ४५ अर्ब रुपैयाँको २९.४१ प्रतिशत हो । यसमा भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई उपलब्ध गराइने अनुदान पनि समावेश गरिएको छ । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार यो अवधिमा एक खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ भने विभाज्य कोषमा एक खर्ब ८० अर्ब रुपैयाँ जम्मा भएको छ । बजेट बचत ३९ अर्ब ४१ करोड रुपैयाँ छ ।