बैंकिङ खबर । पुँजी बजारको सुधार र बिस्तारका लागि लगानीकर्ताहरुको आन्दोलन झन्झन् चर्किँदै गएको छ । एक साता अघिदेखि रिले अनुसनमा बसेका दबाब समूहका सदस्यहरु सोमबारदेखि आमरन अनसनमा बसेका छन् । गत शुक्रबार दबाब समूहको वार्ता टोली र सरकारी अध्ययन समितिबीच वार्ता भएपनि शनिबार अध्ययन समितिको बैठकमा सामेल नगराएपछि सोमबारबाट दबाब समुहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइराला आमरन अनसनमा बसेका हुन् ।
नेप्से कार्यालयमा तनाव सिर्जना
विभिन्न १३ शुत्रीय माग राखि अनुसनमा बसेका दबाब समूहसँग माग प्रति सरकार सकारात्मक नभएको भन्दै आन्दोलमा उत्रिएका हुन् । सात दिनसम्म रिले अनसन बस्दा पनि माग सुनुवाई गर्नुको सट्टा अर्थमन्त्रालय र विभिन्न निकायबाट झन् षड्यन्त्र भएको तथा पुँजी बजारको विकास र सुधारका कामलाई अवरुद्ध पार्ने प्रयास भएको भन्दै लगानीकर्ताहरु आक्रोशितभएका छन् । दबाब समूहले कारोबार नगर्न नगराउन चेतावनी दिएपनि नेप्से र ब्रोकर कम्पनीले साथ नदिएपछि नेप्से कार्यालयमा तनावको स्थिती समेत सिर्जना भएको छ । तनावका कारण बजार खुलेको आधा घण्टासम्म कारोबार नै अवरुद्ध भएको थियो ।
कांग्रेसको ऐक्यबद्धता
सेयर लगानीकर्ता दबाब समूहको मागप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने ऐक्यबद्धता जनाएको छ । कांग्रेस नेता एवम् पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालगायतका कांग्रेस नेताले अनसन स्थलमा गएर उनीहरुको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । अर्थमन्त्रीको राजीनामाबाहेकका बजार सुधारका मागहरुमा उनीहको समर्थन रहेको छ ।