बैंकिङ खबर । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआईएन) को आयोजनामा २३ डिसेम्बरमा काठमाडौंको होटल र्याडिसनमा ‘डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण’ सम्बन्धी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले उद्घाटन गर्ने एक दिने उक्त सम्मेलनको संयोजन बीएफआईएनले गर्नेछ भने अन्य विभिन्न संघसंस्थाहरु सहयोगीको रुपमा रहनेछन् ।
सम्मेलनमा विश्वमा सूचना प्रविधिको आविष्कारसँगै आगामी पुस्ताहरुलाई फाइनान्सियल टेक्नोलोजीमा अझ कसरी सबल बनाउन सकिन्छ ? रोजगारीको नयाँ आयामहरु थपिँदै गर्दा भावी दिनहरुमा हुन सक्ने परिवर्तन र परिवर्तनसँग मानवस्रोतको रुपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा नेपाल तथा भारतका विज्ञ तथा व्यवस्थापकहरुले आफ्ना विचार तथा अनुभवहरु प्रस्तुत गर्ने आयोजक बीएफआईएनका प्रवन्ध निर्देशक विनोद आत्रेयले जानकारी दिए ।
सम्मेलममा तिन वटा सेसनमा विविध विषयमा छलफल हुनेछ । तिन वटा सेसनको अध्यक्षता क्रमशः पूर्व मुख्यसचिव विमल कोइराला, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना र नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष महेश कुमार गुरागाईँले गर्नेछन् । सम्मेलनमा भारतको टाटा कन्सल्टेन्सी सर्भिसेज फाइनान्सियल सोलुसनका उपाध्यक्ष आर. विवेकानन्द, भारतको आईडीएफसी बैंकका मानव संसाधन निर्देशक प्रतिक दुवे, रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ इण्डियाका महासचिव राकेश अग्रवाल र साउथ एशिया फास्ट ट्रयाक एण्ड एनालाइसिस्टका सम्पादक सौरजित ऐयरले विश्वमा अबको पुस्ताले कस्तो प्रविधितर्फ अगाडी बढ्ने, अबको प्रविधिको विकास के हुन सक्छ भन्ने विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् ।
त्यस्तै बीएफआईएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय, ग्लोबल आइएमई बैंककी सहायक महाप्रबन्धक आरती राणा, केयर रिसर्च एण्ड ट्रनिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत संजित कुमार, प्रभु बैंककी मानव संसाधन र व्यवसायिक योजना विभाग प्रमुख रश्मी पन्त र लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले लगायतका ब्यक्तिहरुले सामुहिक छलफल पश्चात् समुहको निचोड प्रस्तुत गर्नेछन् ।
बीएफआईएन र रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ इण्डिया तथा केयर रिसर्च एण्ड ट्रनिङ लिमिटेड बीच छुट्टाछुटै दुई पक्षीय सम्झौता पनि हुन लागेको बीएफआईएनका प्रबन्ध निर्देशक डा. आत्रेयले जानकारी दिए ।
टाइटल स्पोन्सर प्रभु बैंक रहेको सम्मेलनको दराज डटकम र नेपाल लाइफ इन्स्योरेन्स मुख्य प्रयोजक रहेका छन् भने मेगा बैंक, कुमारी बैंक, मर्कन्टाइल, नेपाल पुर्नबीमा कम्पनी लगायतले सहयोग गर्ने बताइएको छ ।
उक्त सम्मेलनमा सहभागी हुन बीएफआईएनका सदस्यहरुले प्रतिव्यक्ति नौ हजार रुपैयाँ र सोबाहेकका अन्यले १० हजार रुपैयाँ तिर्नुपर्ने आयोजकले जनाएको छ । उक्त रकममा भ्याट समावेश नगरिएको समेत आयोजकले बताएको छ ।