बैंकिङ खबर । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले नेपालका बैंकहरुले जोखिम बढाउँदै लगेको निश्कर्ष निकालेको छ। उच्च व्याजदर लिएर ऋण विस्तारमा बैंकहरु आक्रामक बन्दै गएको भन्दै उसले चिन्ता जाहेर गरेको छ।
उत्पादनशील क्षेत्रमा परेको उच्च व्याजदरको भारले अर्थतन्त्रलाई नै घातक पार्न सक्नेतर्फ उसले सजग गराएको छ। लगानीयोग्य रकमको अभाव देखाउँदै बैंकहरुले व्याजदरमा प्रतिस्पर्धा गर्नु अन्तर्राष्ट्रिय अभ्यास विपरित भएको भन्दै आइएमएफले आलोचना गरेको छ।
वार्षिक कार्यक्रमअनुसार आर्टिकल फर एसिसमेन्ट गर्न आएको टोलीले बैंकहरुको केही गलत अभ्यासले नेपालको अर्थतन्त्रमा असर देखिन थालेको औंल्याएको छ।
व्याज र ऋण विस्तारमा गलत प्रतिस्पर्धा गर्ने, आफूअनुकल सूचकहरु परिवर्तनका लागि दवाव दिने, खराब कर्जा लुकाउने प्रयास गर्नु जस्ता गलत अभ्यास भइरहेको कोषको आरोप छ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आइएमएफ टोलीका संयोजक गिर्ट अल्मेकिन्डर्सले बैंकहरुको पुँजी बढाउनुपर्नेमा जोड दिएका छन् । ठूलो रकमको ऋण विस्तार गर्ने तर पुँजी कम हुँदा त्यसले अविश्वास बढ्न जाने उनले बताए। बैंकहरुले व्याजदर र लगानीका सम्वन्धमा अन्तर्राष्ट्रिय अभ्यासलाई अनुशरण गर्नुपर्नेमा उनले जोड दिए।
यसअघि टोलीले राष्ट्र बैंकका उच्च अधिकारीहरुसित भेटी बैंकहरुको वास्तविक गतिविधि र सूचकहरुबारे जानकारी लिएको थियो । भेटघाटका क्रममा अधिकारीहरुले निजी क्षेत्रबाट उत्पादन तथा निर्माण क्षेत्रमा पर्याप्त कर्जा माग भएपछि बैंकहरुमा अभाव भएको जानकारी गराएका थिए।
त्यस्तै सो समस्या समाधानका लागि स्थानीय तहको खाताको आधा रकम परिचालन गर्न दिइएको बारे जानकारी गराइएको थियो। सरकारी बजेट बैंकहरुले विनाशर्त निक्षेपका रुपमा परिचालन गर्न पाउनुले आगामी दिनलाई असर पर्न सक्ने भन्दै टोलीले यस्तो निक्षेप उचित क्षेत्रमा परिचालनका लागि शर्तहरु तोकिनुपर्नेमा जोड दिएको छ।