बैंकिङ खबर। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा तत्कालका लागि व्याजदरको प्रतिस्पर्धा नगर्ने भएका छन्।
व्याजदरका विषयमा अध्ययन गर्न र सुझावसहित प्रतिवेदन पेश गर्न समिति गठन भएकाले प्रतिवेदन नआउँदासम्म व्यक्तिगत मुद्दतीको व्याजदरमा प्रतिस्पर्धा नगर्ने सहमति भएको हो।
सो समितिमा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना समेत सदस्य छन्। व्यक्तिगत मुद्दतीमा प्रतिस्पर्धा नगरौँ भनेर आफूले सुझाव दिएको उनले जानकारी दिए । यद्यपी संघको बैठक भने बसेको छैन ।
एसोसिएसनले व्यक्तिगत मुद्दतीमा व्याजदरको सीमा फूकाएसँगै बैंकहरुले १३ प्रतिशतसम्म दिँदै आएका छन् । बैंकहरुले १३ प्रतिशतसम्म व्याज दिएपछि समग्र कर्जाको व्याज समेत बढ्ने भन्दै उद्योगी व्यवसायीहरुले मंगलबार गभर्नर डा. चिरञ्जिवि नेपाललाई भेटेर व्याजदर नियन्त्रणका लागि सुझाव दिएका थिए।
अर्कोतर्फ मुद्रा तथा पुँजी बजारमा देखिएका समस्याको समाधानका लागि गठित समितिले व्याजदरका सम्वन्धमा बैंकरहरुसँग सुझाव संकलन गरिरहेको छ। भोलिसम्मको समयसीमा पाएको समितिले अर्थमन्त्रीलाई समस्या र तिनको समाधानको उपायहरुसहित प्रतिवेदन बुझाउने छ।
सो प्रतिवेदनका आधारमा अर्थमन्त्रीले मुद्रा बजारलाई व्यवस्थित गर्नका लागि आवश्यक कदम चाल्ने छन्। अर्थ मन्त्रालयले बैंकहरुले दिने ऋणको व्याजमा अधिकतम सीमा लगाउन सक्ने भएकाले बैंकहरु अब व्याजदरको प्रतिस्पर्धामा नजाने भएका हुन्।
व्याजदरको प्रतिस्पर्धाले कष्ट अफ फण्ड हाइ हुने र कर्जामा अधिकतम सीमा तोकिएमा त्यसले बैंकको नाफालाई समेत असर पर्ने भएपछि बैंकहरुले तत्कालका लागि व्याजदरको प्रतिस्पर्धा रोकेका हुन् ।